पार्टी प्रचण्डको इसारामा चल्न थालेकाे भन्दै दोलखा कांग्रेसका नेता–कार्यकर्ता एमालेमा प्रवेश
१२ कात्तिक, दोलखा । दोलखाको बिगु गाउँपालिका–६ आलाम्पुका कांग्रेस उपसभापतिसहितका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार आलाम्पुमा नेकपा एमालेका उम्मेदवारहरूको घरदैलो तथा भेटघाट कार्यक्रममा वडा उपसभापति अमरबहादुर थामीसहितका नेता–कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।
सो अवसरमा कांग्रेसका वडा कोषाध्यक्ष शंकर थामी तथा सदस्यहरू धनकुमार थामी र टोलबहादुर थामीलगायत आधा दर्जन नेताहरू एमालेमा प्रवेश गरेका हुन् । उनिहरूलाई नेकपा एमालेको प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटी र प्रदेश सभा (ख) का उम्मेदवार भरतबहादुर केसीलगायत नेताहरूले खादा–माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
पार्टी प्रवेशपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै अमरबहादुर थामीले २०४६ सालदेखि कांग्रेसले दोलखामा केही गर्न नसकेपछि यो पार्टीको अस्तित्व नै नरहेकाले आफूहरू एमालेमा प्रवेश गरेको बताए । कांग्रेसले जिल्लाको विकास गर्न पटक–पटक अवसर पाए पनि केही नगरेको बताउँदै उनले भने, ‘हुँदा–हुँदा माओवादी अध्यक्ष प्रचण्डको इसारामा कांग्रेस चल्न थाल्यो, हामी कार्यकर्तालाई प्रचण्डको कार्यकर्ताजस्तो बनाइयो । यो सबै सहेर पार्टीमा रहनुको अर्थ नभएपछि हामीले एमाले रोजेका हौँ ।’
प्रकाशित मिति : October 29, 2022 at 2:51 pm









