७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

तिहारका लागि माटोका पाला बनाउन भ्याइनभ्याइ

५ कात्तिक, मध्यबिन्दु (नवलपरासी पूर्व)। पूर्वी नवलपरासीको कावासोती– ३ का ६० वर्षीय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसकेका छन् । हिन्दुहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै माटोको पाला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्नका लागि पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उनी व्यस्त छन् ।

प्रजापति भन्छन्, “तिहारका लागि आवश्यक पालाको माग पूरा गर्न तीन महिना अगाडिदेखि नै पाला बनाउन सुरु गर्नुपर्छ, तिहारसम्ममा ५० हजार पाला बिक्री गर्ने लक्ष्य लिएको छु ।” आफ्ना बाबुबाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उनको भनाइ छ ।

पुर्खाको पेशालाई धान्दै प्रजापतिले विगत २५ वर्षदेखि व्यावसायिकरुपमा नै माटोका सामान बनाउँदै आउनुभएको छ । सिजनअनुसार माटोका सामान बनाउँदै आएका प्रजापति भन्छन्, “जिल्लामा करिब चार लाख माटाका पालाको माग रहेको छ, तर बजार माग पूरा गर्न नसक्दा वीरगञ्जबाट समेत आयात गर्नुपर्ने बाध्यता रहेको छ ।”

उनका अनुसार जिल्लामा माटोका सामग्री बनाउने तीन जना मात्रै छन् । पाला, गमलालगायतका माटोबाट बन्ने विभिन्न सामान बनाउन आवश्यक माटो सहज उपलब्ध हुन नसक्नु नै माटोका सामग्री बनाउनेको प्रमुख समस्या भएको उनी बताउछन् । बाबुबाजेबाट सिकेको पुख्र्यौंली पेशालाई व्यावसायिकरुपमा अगाडि बढाएको स्मरण गर्दै उनले भने, “अहिले युवाले माटोलाई आकार दिन होस् वा माटोलाई छुन मन पराउँदैनन् खाली समय बिताउँछन् तर कामलाई सम्मान गर्दैनन्, अब म पछि यही पेशालाई निरन्तरता दिने कोही छैन ।” यहाँ तयार भएका पालासहित माटोका अन्य सामग्री नारायणगढ, कावासोतीदेखि दुम्कीबाससम्म होलसेल र खुद्रामा बिक्री हुने गर्दछ ।

प्रकाशित मिति : October 22, 2022 at 2:23 pm