३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

नवौँ राष्ट्रिय खेलकुद : गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा


१ कात्तिक, कास्की । विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेशलाई १–० गोलले निराश पार्दै आर्मी फाइनलमा पुगेको हो ।

आर्मी आठौँ संस्करणको राष्ट्रिय खेलकुदमा फुटबलको च्याम्पियनसमेत हो । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएकामा दोस्रो हाफममा आर्मीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

वैकल्पिक खेलाडी सुदील राईले खेलको ५८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभयो । खेलको २४औँ मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गर्नुभएका राईले उत्कृष्ट गोल गरेपछि आर्मी स्वर्ण पदक नजिक पुगेको हो । आर्मीले खेलको सुरुआतदेखि गण्डकीलाई दबाबमा राखे पनि पाएको अवसरको उचित सदुपयोग गर्न सकेको थिएन । आर्मीका गोलका केही अवसर खेर गएका थिए ।

जारी प्रतियोगितामा आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको हो । प्रतियोगिताको दोस्रो सेमिफाइनलका लागि सुदुरपश्चिम प्रदेश र समूह ‘बी’ विजेता एपिएफ क्लबका बीच खेल हुँदैछ ।

पुरुष फुटबल प्रतियोगितामा नवौँमा सहभागी ११ वटै टोलीले सहभागिता जनाएका छन् । प्रत्येक टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा गण्डकी प्रदेश, प्रदेश नं १ र एनआरएनको टोली छ । समूह ‘बी’मा बागमती, मधेश प्रदेश र एपीएफ रहेका छन् । त्यसैगरी आर्मी, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब समूह ‘सी’ मा र समूह ‘डी’मा कर्णाली र सुदूरपश्चिम प्रदेश छन् । पुरुष फुटबलको स्वर्ण पदकका लागि कात्तिक ३ गते फाइनल खेल हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार १७:३५

https://srdb.com.np/