२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

स्थायी शान्ति र लोकतन्त्रका लागि सत्तागठबन्धनलाई बहुमत दिलाउन प्रधानमन्त्री देउवाद्वारा आह्वान

१ कात्तिक, काठमाडाैं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरेका छन् । ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले आगामी आमनिर्वाचनमा रुख भएको ठाउँमा रुखमा, हसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा र कलम भएको ठाउँमा कलम चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरे ।

गठबन्धन दलका उम्मेदवारलाई कांग्रेसका सबै नेता कार्यकर्ता तथा आफूले पनि स्थानीय तहको निर्वाचनमा भोट हालेको प्रसङ्ग उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पनि गठबन्धन दलका उम्मेदवारलाई सबैले सबैलाई भोट हाल्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले भने, “संसद बचाउन यो गठबन्धन बनेको हो, यो राम्रो सँग चलेको छ । सबैबाट सहयोग प्राप्त भएको छ । आपसी विश्वास कायम छ । यसका लागि सबैलाई धन्यवाद ।”

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद भङ्ग गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै उनले जनताले चुनेको संसद मन लाग्यो भन्दैमा लहडमा भङ्ग गर्न नपाईने बताए । यस्तै नहोस् भनेर नै संविधान बनाउँदा सो बारेमा संविधानमा आवश्यक व्यवस्था उल्लेख गरेको उनले जानकारी गराए ।

लोकतान्त्रिक प्रणालीमा निर्वाचन गर्ने निर्धारित र आवधिक समय हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोही समयानुसार नै अहिले निर्वाचन हुन लागेको स्पष्ट पारे । “हामीले अपनाएको राजनीतिक प्रणाली अनुसार नै अहिले आवधिक निर्वाचन पाँच वर्षमा हुन लागेको हो”, उनले भने।

मुलुकमा एकातिर कोभिड–१९ महामारीको असर र डेङ्गु रोगको सङ्क्रमण तथा अर्काेतिर आर्थिक अवस्थामा देखिएको समस्याका बाबजुद सबैको सहयोगले समाधान उन्मुख भएको उल्लेख गर्दै उनले सबै मन्त्रीले राम्रो काम गर्नुभएको बताए । त्यसैले नेपाल असफल राज्य हुन बाट बचेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले नेपालको अपार संभावना भएको जलस्रोतको दिगो उपयोग गरेर निर्यात गर्न सकिने उल्लेख गरे । उनले उत्पादित विजुली भारतले किन्ने सहमति भएकाले बजारको समस्या नरहेको र यसैबाट मुलुकले समृद्धि हासिल गर्ने अपेक्षा गरे ।

उनले नेपालको संविधान अनुपम रहेको उल्लेख गर्दै सबै मिलेर देश बनाउनुपर्ने आवश्यकता औल्याए । “अहिले मुलुकको आर्थिक अवस्थामा सुधार आएको छ । कोभिड–१९ पनि नियन्त्रण भएको छ । स्थायी शान्तिमा मुलुक गएको छ । जीवन्त प्रजातन्त्र स्थापना भएको छ । कांग्रेसले खोजेकैै यही प्रजातन्त्र हो”, प्रधानमन्त्री देउवाले भने ।

उनले सबै वर्ग, क्षेत्र र समुदायको देश भएकाले नै त्यसका लागि समावेशी लोकतन्त्र अपनाएको बताउदै सो कुरा संविधानले व्यवस्था गरेको उल्लेख गरे । प्रधानमन्त्री देउवा ले भने, “यो प्रजातन्त्रको सुन्दर पक्ष हो । विश्वमा यस्तो विरलै हुन्छ । यो ठूलो उपलब्धि हो र यसको रक्षा गर्नु सबैको दायित्व हो । हरेकलाई आरक्षण दिइएको छ । सुन्दर देशसँगै सुन्दर पजातन्त्र स्थापना गरेका छौ, सबैको प्रतिनिधित्व सुनिश्चित भएको छ ।”-

प्रकाशित मिति : October 18, 2022 at 4:34 pm