नुवाकोट २ (क) मा समाजवादीका राजेन्द्र लोहनी र कांग्रेस नेतृ गीता अमात्यलाई जमानत जोगाउन कठिन
३१ असोज, नुवाकोट । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य राजेन्द्र प्रकाश लोहनी र नेपाली कांग्रेसकी नेतृ गीता अमात्यको मतदान अघिनै जमानत जवफत हुने आंकलन गरिएको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको टिकटमै उम्मेदवारी दिएका उनीहरूले राजनीतिक रूपमा उम्मेदवारी फिर्ताको घोषणा गरे पनि कानुनी रूपमा उनीहरूको उम्मेदवारी कायम रहेको छ ।
नेकपा एकीकृत समाजवादीका नेता लोहनीको टिकट खोस्नका लागि पाँच दलीय गठबन्धनको कांग्रेस र नेकपा माओवादी केन्द्रको स्थानीय नेतृत्वले रणनीति बनाएर केन्द्रीय सहमति विपरित पार्टीकै टिकटमा उम्मेदवारी हालेपछि समाजवादी गठबन्धनबाट आउट हुनमात्र पुगेन उम्मेदवारी कायम राखेर पनि आफ्नो चिन्हमा मतदान नगर भनेर प्रचार गर्नुपर्ने अवस्थामा पुग्यो ।

स्थानीय निर्वाचनमा केही वडा सदस्यबाहेक जित्न नसकेको समाजवादीका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन झन अफापसिद्ध हुनपुगेको हो । पोलिटब्यूरो सदस्य लोहनीले आफैँले आफ्नो लागि मतदान गर्न नपाउने भए पनि केन्द्रीय गठबन्धनको सहमति अनुसार उम्मेदवारी दिएका थिए तर बिडम्बना उनको उम्मेदवारी कायम भएर पनि कलम चिन्हमा मत माग्ने अवस्थामा रहेनन् ।
त्यस्तै च्याखेँ थाप्नका लागि कांग्रेसले नेतृ अमात्यको उम्मेदवारी हाल्न लगाए पनि उम्मेदवारी फिर्ताको अन्तिम समयसम्म दाउपेच रहेपछि उनले पनि कानुनी रूपमा उम्मेदवारी फिर्ता लिन पाइनन् र उम्मेदवारी कायमै रह्यो । यद्यपी कांग्रेसले उनलाई विज्ञप्ति निकाल्न लागएर उम्मेदवारी फिर्ता लिएको घोषणा गर्न लगायो जसका कारण उनी मैदानमा अर्कै उम्मेदवारका पक्षमा मत माग्दै हिड्ने अवस्थामा पुगिन ।

निर्वाचन ऐनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसके जमानत जफत हुने व्यवस्था गरिएको छ। दुबै उम्मेदवारको उम्मेदवारी र चुनाव चिन्ह रहेको भए पनि अर्काै उम्मेदवार र चिन्हको प्रचारमा लागेपछि १० प्रतिशत मत ल्याउने सम्भावना निकै कम देखिन्छ ।
यसले लोहनी र अमात्यको राजनीतिक जीवनमा जमान जोगाउन नसकेको उम्मेदवारको पदवी थपिने छ । जुन राजनीतिमा लागि त्यति सुखद् मानिदैनन् । उनीहरूको जमानत जफत हुने कुराले गठबन्धनका दलहरूले वा उनीहरूले समर्थन गर्ने उम्मेदवारले केही लाभ प्राप्त गरे पनि स्वयं उनीहरूकै राजनीतिक करियरका लागि भने सुखद् मान्न सकिन्न ।

नुवाकोट क्षेत्र नम्बर २ को प्रदेशसभा क जहाँ नेकपा एमालेका बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे र नेकपा माओवादी केन्द्रका बागमती प्रदेशका उपाध्यक्ष रामप्रसाद ढुंगाना (जो पञ्चायतकालका जिल्ला पञ्चायतका उपसभापति) काे बीचमा मुख्य प्रतिस्पर्धा हुने भएको छ । ढुंगानालाई माओवादीबाटै स्वतन्त्र बनेर उम्मेदवारी दिएका शम्भु पनेरूले समेत चुनौति दिएका छन । पनेरूले माओवादी बृतबाट मात्रै तीन हजार भन्दा बढी मत प्राप्त गर्ने अनुमान समेत गरिएको छ ।
प्रकाशित मिति : October 17, 2022 at 5:33 pm









