१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

कैलाली बाढीः ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

३० असाेज, काठमाडाैं । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ ।

बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ । बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्याएको छ । असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते आएको बाढीले टीकापुरमा पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पुर्याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले जानकारी दिए । उनले कृषितर्फ बाढीले पुर्याएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताए । “हरेक वडामा वडघरको सहयोगमा टोलटोलमा पुगेर तथ्याङ्क लिने काम भइरहेको छ”, उनले भने, “वडा नं ५, ६, ७, ८ र ९ मा धानबालीमा बढी क्षति भएको छ । कतिपय किसानको बाली खेतमै गलेको छ ।”

पालिकाभरिको कुरा गर्दा २० प्रतिशत बढी बालीमा क्षति भएको छ । डुबान भएका क्षेत्रमा पानी जमेर धानबाली गलेर नोक्सान भएको उहाँको भनाइ छ । टीकापुर–५ का किसान सुधा चौधरीको १० कठ्ठा जमिनमा लगाएको धानबाली सबै नोक्सान भएको छ । “धान पाकेर काट्न तयार भएको थियो, एक सातासम्म खेत पानीले जलमग्न भयो, पानी सुक्नेबेला खेत हेर्न जाँदा धानको एक बोट पनि टाढो थिएन, सबै धान मल भइसकेको थियो”, उनले भने, “ पानीसँगै हावा चलेकाले धानबाली ढल्यो, त्यसपछि एक सातासम्म खेत जलमग्न भएपछि बाली रहने कुरै भएन ।”

टीकापुर–८ का राहुल साउदको पनि धानबालीमा क्षति भएको छ । कर्णाली नदीको भङ्गालो बस्तीमा पसेपछि उहाँको धानबाली लगाएको खेत बालुवाले भरिएको छ । “गत वर्ष काटेको धान बाढीले बगायो, यस वर्ष सबै खेतमै सकियो”, उनी भन्छन्, “अब के खाने होला ? हामीले दुई वर्षसम्म खेतको बाली देख्न पाउने भएनौँ । किन खेती लगाइएछ जस्तै लागेको छ ।”

बाढीले भजनी नगरपालिकामा कृषितर्र्फ ठूलो क्षति भएको छ । भजनीमा कृषिजन्य उत्पादनमा ९० प्रतिशत क्षति भएको छ भने ७० प्रतिशत धानबालीमा क्षति भएको पालिकाले जनाएको छ । “समग्रमा ९० प्रतिशतमाथि क्षति भएको छ । धानबालीका कुरा गर्दा कोही–कोही किसानको उच्च जमिनमा रहेको बाली बचेको देखिन्छ”, कृषि शाखा प्रमुख हरिलाल रेग्मी भन्छन्, “बाढीले लगातार दुई वर्ष किसानले उत्पादन लिन पाएनन्, भजनीमा जस्तो बिचल्ली कतै भएको छैन । हामी तथ्याङक ‘इन्ट्री’ गर्ने काम गरिरहेका छौँ । त्यसपछि क्षति यकिन विवरण भन्न सकिन्छ ।”

कृषि शाखा प्रमुख रेग्मी भजनीमा माछापालक ४० किसानका सबै क्षति भएको बताउनुहुन्छ । “पशुपालनमा क्षति भएको छ । कुखुरा, बङ्गुरपालनमा समेत त्यस्तै क्षति छ” उहाँले भन्नुभयो, “धानबाली कसै–कसैको मात्र बचेको छ । बचेको बालीमा समेत बाला छैन, अघिल्लो पटकको बाढीले फूल झारेकाले बाला छैन ।”

भजनी–८ का धनलाल चौधरीको धानबाली सबै नोक्सान भएको छ । घरमा बाढी पसेपछि हुलाकी सडक भागेका धनलाल असोज २६ गते घर फर्कँदा उहाँको न त घर बचेको थियो, न त खेतको धानबाली । “घरका सबै भित्ता भत्केका, अन्न राखेका माटाका डेहरी (भकारी) भत्किएर अन्न बगिसकेका, केही सडेका थिए”, उनले गुनासो गरे, “खेततिर हेर्दा बाली सबै ढलेर नोक्सान । धानबाली ढलेर धानबालीमाथि हिलो थुपारिएको छ । एक दाना पनि धान देख्न पाइएन ।” यस्तो समस्या यहाँका अधिकांश किसानको छ । कतिपयले बचेका धानका बाला काट्न थालेका छन् तर जताततै जलमग्न भएकाले सुकाउने ठाउँ छैन । “अधिकांशको बाली खेतमै सकियो, कतिपय बचेका किसान बाला टिप्न थालेका छन्”, स्थानीय जयप्रसाद ढुङ्गानाले भने, “बाला टिपेकाहरू सडकमा, विद्यालयमा, उच्च स्थानमा लगेर सुकाउन थालेका छन् । यस क्षेत्रका किसानसँग अब धानको बीउ पनि रहने देखिएन । अर्को वर्ष किसानलाई बीउ पनि खोजाखोज गर्नुपर्ने अवस्था आउँछ ।”

जानकी र जोशीपुर गाउँपालिकामा पनि बाढीले धानबालीमा क्षति भएको छ । जानकीमा वडास्तरमा तथ्याङ्क लिने काम भइरहेको पालिकाले जनाएको छ । जोशीपुरमा पनि तथ्याङ्क सङ्कलनको काम भइरहेको पालिकाले जानकारी दिएको छ । किसान स्थानीय सरकारले राहतमा खाद्यान्नसँगै हिउँदे खेतीका लागि बीउ, मल, खेती गर्न आवश्यक खर्चमा सघाइदिनुपर्ने माग गर्छन् । उनीहरूले हिउँदे खेती गर्न पाएमा किसान बाँच्ने बताउँछन् । “धान बेचेर हिउँदे खेतीको जोहो गर्ने हामी अब कसरी हिउँदे बाली लगाउनु”, स्थानीय रमेश विकले भने, “हिउँदे बालीका लागि राखिएको बीउ पनि रहेन, किसानलाई जस्तो पीडा कसैलाई छैन ।”

प्रकाशित मिति : October 16, 2022 at 11:46 am