१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

जुम्लाका बाढी पहिरो पीडितलाई राहत

२९ असोज, जुम्ला । गत एकसातादेखि लगातार परेको अविरल वर्षाले जुम्लामा धनजनको व्यापक क्षति भएपछि पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले हवाई सेवावाट राहत बितरण दिन थालेको छ । प्रदेश सरकारले यहाँको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट राहात बितरण गरेको हो । नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहात सामाग्री प्रदान गरिएको बताए ।

नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिकाको सुन्दरीमा चिनियाँ पाल चार थान, कम्वल ४० थान र डिटोल सावुन एक कार्टुन वितरण गरिएको छ । सिंजा गाउँपालिकामा त्रिपाल २५ थान, कम्बल २५ थान, प्लाष्टिक पाल २५ थान उपलब्ध गराइएको छ । हिमा गाउँपालिकामा कम्बल २५ थान, त्रिपाल २५थान र डिटोल सावुन एक कार्टुन उपलब्ध गराइएको छ ।

यसैगरी असोज २७ गते हिमा गाउँपालिकामा ६० थान त्रिपाल, कम्वल एक सय थान टेण्टपाल एक सय थान, डिटोल सावुन एक कार्टुन पुर्याइएको थियो। हेलिकोप्टरबाट यही २४ गते कनकासुन्दरी र हिमाका घाईतेको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले कर्णाली प्रदेश सरकारको सहयोगमा प्राप्त राहत सामाग्री बाढी पहिरो पिडितलाई उपलब्ध गराइएको तर वितरणको वास्तविक विवरण आउन बाँकी रहेको जानकारी दिए । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार निरन्तरको प्रयासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका सात वडामध्ये ४,५,६ र ७ का लागि २५ गते कालिकाखेत्तुमा र असोज २८ गते १,२ र ३ वडाको लागि देवारगाउँ टापुमा हेलिकप्टरद्वारा राहत सामग्री उपलब्ध गराइएको जानकारी दिए ।

यही असोज १९ गतेदेखि २५ गतेसम्म परेको अविरल बर्षाले हिमा गाउँपालिकामा तीन सय ८६ घरमा पूर्ण क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी सिंजा गाउँपालिकामा ५१ घर पूर्णरुपमा क्षति भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले यस क्षेत्रमा पहिरोले आठ जनाको मृत्यु भएको र घरको क्षतिबारे तथ्याङक सङ्कलन भइरहेको बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १२:००