२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

हेलिकप्टर चढेर पार्टी प्रवेश गरेका योविन्द्र भन्छन, ‘एमालेले टिकट दियो, भोट दिएन’

२९ असोज, नुवाकोट । स्थानीय चुनावमा दुप्चेश्वर गाउँपालिकामा कांग्रेसले टिकट नदिएपछि एमाले प्रवेश गरेर चुनाव लडेका योविन्द्रसिंह तामाङले सूर्य चिन्ह पाए पनि मत (भोट) नपाएको बताएका छन ।

शुक्रबार औचारिक रूपमा कांग्रेस प्रवेश गर्दै तामाङले एमालेले टिकट दिए पनि भोट नदिएको गम्भीर आरोप लगाए । नेकपा एमालेभित्र तीब्र विवादका बीच अध्यक्ष बद्री मैनालीले तामाङलाई हेलिकप्टरमा काठमाडौँ बोलाएर टिकट दिएर दुप्चेश्वर पुर्याएका थिए ।

उनले एमालेको तनाशाही प्रवृति मन नपरेका कारण आफू सोही पार्टीमा निरन्तर नरहने निष्कर्षमा पुगेको पनि बताए । योविन्द्रसँगै सो चुनावमा एमाले प्रवेश गरेका सुनबहादुर तामाङ र अर्का एक पनि कांग्रेसमै फर्किसकेका छन ।

योविन्द्र शुक्रबार तादी गाउँपालिकाको खरानीटारमा भएको कांग्रेस र माओवादीको संयुक्त चुनाव परिचालन बैठकमा कांग्रेस प्रवेश गरेका हुन । उनलाई नुवाकोट कांग्रेसका सभापति रमेशकुमार महतले स्वागत गरे ।

योविन्द्रको भाषण बाहिरिएपछि नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य बलराम आचार्यले उनको अभिव्यक्तिमा खेद प्रकट गरेका छन । उनले भनेका छन, ‘योबिन्द्र मेरो भाइ हो । कसले टिकट दियो थाहा पाइनँ । तर मैले ज्यान दिएर नीसर्त सहयोग गरे।अवसरवाद को चरम सीमा नाघ्यो भोट पाइनँ भन्ने शब्द प्रति खेद प्रकट गर्दछु । मंसिर चार पछि टिकट बेच्ने को खोजी गर्नेछु ।’

दुप्चेश्वर एमालेवृत्तमा देशव्यापी चर्चाको विषय बनेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै केही सार्वजनिक मञ्चको मन्तव्यमै दुपेश्वरको वडा नम्बर ३ मा ३९ जनाको वडा कमिटी रहने ठाउँमा २४ मात्र भोट आएको भन्दै स्थानीय नेतृत्वप्रति रोष प्रकट गरेका थिए । उनले एमाले भएर एमालेलाई भोट नदिने भए पार्टी छाड्न अनुरोध गरेका थिए ।

प्रकाशित मिति : 10:00