२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

एडिलेडमा प्रतियोगितात्मक देउसी भैलौ हुँदै


२६ असोज, एडिलेड । एडिलेड नेपालको आयोजनामा अक्टोवर २२ मा देउसी भैलो तथा रङ गोली प्रतियोगिता हुने भएको छ । एडिलेड नेपालका अध्यक्ष पुष्कर कोइरालाले नेपाली संस्कृतिको महत्वपुर्ण अंगको रुपमा रहेको देउसी भैलौको संस्कृतिलाई प्रवासमा समेत जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । स्थानिय एक्टिभ एल्डर एसोसिएशनको हल एस्कट पार्कमा दिनको २ बजेबाट रंगगोली प्रतियोगिता हुने र त्यस पछि देउसी भैलो प्रतियोगिता हुने अध्यक्ष कोइरालाले जनाएका छन् ।
सांस्कृतिक कार्यक्रमको साथमा हुने प्रतियोगितामा तिहार स्पेशल नेपाली खाना समेत वितरण गर्ने जनाइएको छ । देउसी भैलौको विजेताको घोषणा दर्शकहरुको मत र निर्णायकहरुको निर्णयलाई आधार मानेर गरिने भएको छ ।

१० भन्दा बढि समुहले भाग लिने देउसी भैलो प्रतियोगितामा प्रथम दोस्रा र तेस्रो हुने समुहहरुलाई क्रमश अष्ट्रेलियन डलर १०००, ५०० र ३०० बराबरको उपहार र रङ गोली तर्फ प्रथम, दोस्रा र तेस्रालाई क्रमश अष्ट्रेलिन डलर ३००, २०० र १०० बराबरको उपहारले पुरस्कृत गर्ने आयोजक समितिले जनाएको छ ।

मल्टिकल्चर साउथ अष्ट्रेलिया र म्यारियन काउन्सीलको सहयोगमा हुन लागेको कार्यक्रममा तिन पुस्ताको देउसी भैलौको मज्जा लिन पाउने अध्यक्ष कोइरालाले बताए । कार्यक्रममा नेपालबाट आउनु भएका अभिभावकहरुको समुह र एडिलेड नेपाली विद्यालयका बालबालिकाहरुको समुह समेत सहभागी हुने भएको छ ।

२०१६मा स्थापित एडिलेड नेपाल सोसलमिडिया फेसबुक मार्फत नेपाली समुदायको सम्पर्क माध्यम बनेर नेपाली समुदायलाई सेवा पर्याउदै आएको छ । २०१९ मा पहिलो पटक प्रतियोगितात्मक देउसी भैली र रङगोली आयोजना गरिएको थियो, जसमा तमु घी साउथ अष्ट्रेलिया विजयी भएको थियो । कोरोना महामारीका कारण विचका दुइ बर्ष प्रतियोगिता हुन सकेको थिएन ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १२:३८

https://srdb.com.np/