२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

महिला क्रिकेट एपीएफ क्लब र सुदुरपश्चिम विजयी


२५ असोज, काठमाडाैँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब र सुदुरपश्चिम प्रदेश बिजयी भएको छ । पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको हो ।

बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफको जितमा रोमा थापाले २२ तथा ममता चौधरीले १७ रन बनाईन् । नेरी थापाले अविजित १६ बनाउँदा कप्तान सिता राना मगरले १६ रन बनाईन् । बागमतीका लागि सुमन खतिवडा र सोनी पाख्रिनले २ तथा कप्तान अस्मिना कर्माचार्यले १ विकेट लिए । त्यस अघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो ।

जितसँगै एपीएफ २ अंक जोड्दै समूह ’ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यस्तै पोखरामा मंगलबार भएको खेलमा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेट पराजित गरेको हो । गण्डकीले दिएको ६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १० ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । सुदुपश्चिमको जितमा रितु कनौजियाले २२ तथा स्नेहा महराले अविजित २१ रन बनाईन् ।

गण्डकीका लागि कप्तान शृष्टि जैसीले अविजित २८ रन बनाईन् । गण्डकीका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । जितसँगै सुदुरपश्चिम २ अंक जोड्दै समूह ’ए’ को दोस्रो स्थानमा उक्लिएको छ । राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ’ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ’बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १७:५५