१७ जेष्ठ २०८१, बिहीबार | Fri May 31 2024

कृपया हामीबाट चुनाव प्रचारको आशा नराख्नुहोलाः हरिवंश आचार्य


२५ असाेज, काठमाडाैं । कलाकार हरिवंश आचार्यले आफूहरूबाट चुनाव प्रचारको आशा नराख्न सबै दललाई अपिल गरेका छन् । मंगलवार सामाजिक सञ्जालमा सन्देश लेख्दै आफूहरूसँग चिनजान भएका धेरै जना आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएको भन्दै सबै चिनजानका उम्मेदवारहरूलाई आफूबाट प्रचारको आश नगर्न अपिल गरेका हुन् । चिनजान र सम्बन्ध भएका उम्मेदवारहरूले आफूहरूबाट सहयोगको अपेक्षा राख्नु स्वभाविक भए पनि आफूहरू सबै दल र उम्मेदवारहरूको साझा मानिस भएको प्रष्ट पारेका छन् ।

यस्तो छ हरिवंशले फेसबुक लेखेको सन्देशः

कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् । कतिसँग गहिरो मित्रता हुन्छ । कतिसँग नाता गाँसिएको हुन्छ । देशमा जब निर्वाचन नजिकिन्छ । त्यसबखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गाँसिएका ब्यक्तिहरू निर्वाचनमा उमेद्वार बन्दछन् । त्यसबखत हामीसँग केही आशा राख्नु स्वभाविक हो । मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर ।

तर, हामी सबै राजनितिक दल, सबै उमेद्वारका साझा मानिस हौँ । ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिह्न रोज्ने भन्ने कुरा स्वविवेक हो । तर, कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिँदैन, यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता, आत्मियता, नातालाई पवित्र नै राखी चुनावमा हामीबाट प्रचार–प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १४:०३