११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

काठमाडौँमा अष्ट्रेलियन भिसा अफिस राख्न राजदूत भोल्क सकारात्मक

२५ भदाै, एडिलेड । नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्कले नेपालीहरुको चासो रहेको काठमाडौँमा अष्ट्रेलियन भिसा अफिस सञ्चालन सम्बन्धमा सम्बोधन गर्दै ३० बर्षपछि आगामी २०२३ मा अष्ट्रेलियाबाट मन्त्रीस्तरिय भ्रमण हुने सम्भावना भएकाले त्यस भ्रमणमा समेत अफिस पुन सञ्चालन बारेमा समेत छलफल हुने विश्वास व्यक्त गरिन । उनले आफू सकारात्मक भएर काम गरिरहको समेत बताइन ।

एडिलेडमा नेपाली वाणिज्यदूतावासद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भोल्कले अष्ट्रेलियामा रहेका नेपालीहरू नेपाल र अष्ट्रेलियाको सम्बन्धका लागि महत्वपूर्ण रहेको बताइन । उनले अष्ट्रेलियाको विकासमा नेपाली समूदायको  भूमिका महत्वपूर्ण रहेको बताइन ।

उनले आफू राजदूत भएपछि कोरोनाका कारण धेरै भ्रमण तथा भेटघाट गर्न नपाए पनि नेपालको विकासका लागि केहि गैरसरकारी संस्थाहरुको सहकार्यमा काम गरिरहेको बताइन । उनले अष्ट्रेलियाले जलवायु परिवर्तन तथा राजनीतिमा महिलाको सहभागिताका क्षेत्रमा मुख्य रुपमा काम गरेको जानकारी गराइन ।

उनले पछिल्लो समय नेपालको उच्च राजनीतिक प्रशासकनिक नेतृत्वसँग समेत कुरा भैरहेको बताउदै धेरै अष्ट्रेलियनहरू नेपालमा लगानी गर्न इच्छु रहेको जानकारी दिइन् । उनले भिसा प्रक्रिया बारेमा बाहिर आएको हल्ला जस्तो नभएर कागत पत्र पुगेकाहरुको भिसा लागेको र पछिल्लो समयको अनावश्यक हल्लाको पछि विश्वास नगर्न समेत आग्रह गरिन ।

कार्यक्रममा क्विन्सल्याण्ड विश्वविद्यालयबाट सूचना तथा सञ्चार विषयमा बिद्यावारिधी गरेका डा. भरतराज पौडेलले अष्ट्रेलियालाई नेपालमा विश्वविद्यालय तथा कलेजहरू खोल्न अनुरोध गरे । पौडेलले नेपाललाई अष्ट्रेलियासँग ठूलो व्यापार घाटा रहेकाले त्यसका क्षेत्रमा समेत काम गर्न राजदूतलाई आग्रह गरे ।

इन्जिनियर तथा समाजिक अगुवा राजु उपाध्यायले अष्ट्रेलियाबाट ज्ञान सिपको प्रदान गर्ने खालका कार्यक्रमहरूमा जोड दिन आग्रह गरेका थिए । जनसम्पर्क समिति साउथ अष्ट्रेलियाका अध्यक्ष दिलिप पोखरेलले अष्ट्रेलियाका विभिन्न शहर र नेपालका विभिन्न शहरबीच भिगिनी सम्बन्ध विकासमा भूमिका खेल्न राजदूतलाई अनुरोध गरेका थिए ।

शैक्षिक परामर्श व्यवसायी आशिष वाग्लेले नेपाल र नेपालीले अष्ट्रेलियाको आर्थिक वृद्धिमा सहयोग गरे झै अष्ट्रेलियाको सरकार सँगै निजि क्षेत्रले पनि नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोग गर्नु आवश्यक रहेको बताए ।

अर्का व्यवसायी रुपक बर्तौलाले नेपाली व्यवसायीहरुले दोहोरो कर तिर्नु परिरहेकाले त्यसको समाधानका लागि अनुरोध गरेका थिए । भने हिमालयन मल्टिकल्चरका रिजन केसी, नेपाली भाषी भुटानी अगुवा पुष्कर पौडेल लगायतका सहभागिहरूले विविध विषयमा राजदुतसँग प्रश्न जिज्ञासा राखेका थिए ।

कार्यक्रममा अष्ट्रेलियाका पूर्व सभामुख तथा सत्ताधारी लेवर पार्टीका सांसद रसेल वाट्ले र लिवरल पार्टीकी नेता तथा साउथ अष्ट्रेलिया सरकारकी पूर्वमन्त्री जिङ लीले यँहा रहेको नेपाली समूदायले साउथ अष्ट्रेलियाको विकासमा खेलेको भूमिकाका बारेमा प्रसंशा गरेका थिए ।

प्रारम्भमा बेलायतकी महारानी एल्जावेथको निधनमा एक मिनेट मौनधारण गरेर शुरु गरिएको कार्यक्रम साउथ अष्ट्रेलियाका लागि नेपाली बाणिज्यदूत दिपक धमलाको सभापतित्व र सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : September 10, 2022 at 7:05 pm