२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

भव्य भयो एडिलेडमा कृष्ण जन्माअष्टमी (फोटोफिचर)


४ भदाै, एडिलेड । नेपाली भजन कीर्तन समूह एडिलेडको आयोजनामा भगवान श्रीकृष्णको जन्मोत्सव भव्य रुपमा सम्पन्न भएको छ । स्थानीय एल्डर एसोशियसनको हल, एडवार्डस टाउनको हलमा आयोजित कार्यक्रम छ सय भन्दा बढि भक्तजनहरुको उपस्थिति रहेको थियो ।

समुहका अध्यक्ष गणेश पराजुलीले मातृभुमीबाट टाढाको प्रवासमा नेपाली संस्कृति संस्कार र पर्वहरुको जगेर्ना गर्न कार्यक्रम आयोजना गरेको बताए । उनले समुहले २०१८ बाट कृष्ण जन्माअष्टमी मनाउदै आएको बताउदै यस बर्ष उल्लेखनीय रुपमा नेपालबाट अभिभावकहरु पनि आउनु भएकाले कार्यक्रम भव्य भएको बताए ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ । र सोहि तिथिलाई श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेल सहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

पछिल्लो समयमा नेपाली समुदायको उल्लेख्य संख्या बढ्दै गएको एडिलेडमा परम्परागत जग्गे निर्माण गरेर गरिएको भगवान श्रीकृष्णको पुजा तथा आरतीको माहोलले मनलाई शान्त र आध्यात्मिक बनाएको बुटबलबाट भ्रमणका लागि आउनु भएकी अभिभावक राधा नेपालको भनाई थियो ।

नेपाल संस्कृत विश्वविद्यालयबाट शास्त्री तहको अध्ययन गरेका शास्त्री संभब सुवेदी (मुरारी)ले पुजा तथा आरती गराएका थिए । अर्की अभिभावक सिता पौडेलले विदेशी भुमीमा युवा पंडितबाट संस्कृतका शव्दहरु बाचन सहित सरल तरिकाले गराईएको पुजाले मनै आनन्ददायी भएको बताईन् ।

कार्यक्रम संयोजक आनन्द वखरेलले नेपालीहरुको धर्म संस्कृति प्रति मोह जहा गए पनि देखिने बताउदै भक्तजनको उपस्थितिले समुहलाई उत्साहित गरेको बताए । पुजा पछि पछिल्लो समयमा चर्चा रहेका संगितकर्मी क्षितिज सापकोटा सहित भजन समुहका सदस्यहरुले भजन कीर्तन गरेका थिए भने सहभागी भक्तजनहरुले साथ दिएका थिए ।

सहभागीहरुलाई कार्यक्रमको अन्तिममा समेत प्रसाद वितरण गरिएको थियो । पुजा आरती भजन सहितको कार्यक्रममा नजिकिएको तीजको झझल्को आउने गरि चेलीवेटीहरुको उपस्थिति र उत्साह देखिन्थ्यो ।

समुहका सचिव आर के शर्माले कार्यक्रम अष्ट्रेलियामा हुर्केको नयाँ पुस्तालाई नेपाली धर्म संस्कृति र संस्कारबारेमा जानकारी दिन पनि आयोजना गरिएको बताए । उनले प्रवासमा धर्म संस्कृति र संस्कार पुस्तान्तरण गर्नु महत्वपुर्ण कार्य भएकाले यस्ता कार्यक्रम प्रवासी नेपालीको भविष्यका लागि पनि जरुरी भएको बताए ।

कार्यक्रममा उल्लेखनीय रुपमा अभिभावकहरु संग बालबालिकाहरुको उपस्थिति रहेको थियो । धेरै सहभागीका तिन पुस्ताको उपस्थित पनि रोचक थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १६:५४

https://srdb.com.np/