८ असार २०८३, सोमबार | Mon Jun 22 2026

‘गणतन्त्र जोगाउन नागरिक सचेत हुनुपर्छ’

६ साउन, काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नागरिक सचेत हुनुपर्ने बताएका छन् । उनले सङ्घीयता कार्यान्वयनका लागि नै राष्ट्रियसभाले १५ बुँदे सङ्कल्प प्रस्ताव पारित गरी सरकारलाई बुझाएको समेत जानकारी गराए ।

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज बुटवलमा आयोजित सङ्घीय शासन प्रणाली सबलिकरण विषयक छलफल तथा अन्तक्र्रियामा अध्यक्ष तिमिल्सेनाले संविधानले प्रदान गरेको अधिकारलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताए । उनले राजनीतिक परिवर्तनलाई सही ढङ्गले अगाडि बढाउनका लागि राजनीतिक दलले आगामी दिनमा थप समीक्षा गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाली जनताको बलिदानी र त्यागबाट सङ्घीय राज्यव्यवस्था स्थापित भएको बताउँदै यस व्यवस्था विरुद्ध हुने घेराबन्दीको विरोध गर्न अपिल गरे। उनले सङ्घीयतालाई बलियो बनाएमा देश समृद्ध हुने बताउँदै सङ्घीयता विरोधीले गरिरहेको हल्लालाई गलत सावित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरले संविधानले प्रदान गरेको अधिकारलाई सहीढङ्गले कार्यान्वयन गरेमा सङ्घीयता संस्थागत हुने बताउनुभयो । सभामुख घर्तीले व्यवस्था विरुद्धमा आउने आवाजलाई सबै मिलेर आम जनतामा पुर्याउनुपर्ने बताए ।

प्रकाशित मिति : July 22, 2022 at 7:25 pm