८ असार २०८३, सोमबार | Mon Jun 22 2026

राप्रपामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल

५ असार, काठमाडौं । राप्रपामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल सुरु भएको छ । काठमाडौंमा बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफलको विषय बनाइएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

दुई दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, संगठन सुदृढीकरण, दोश्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र संघको निर्वाचनको तयारी लगायत समग्र पक्षमा छलफल गरि पार्टीको भावी रणनीति तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहीबार केन्द्रीय समितिमा ४९ जना सदस्य थपिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, जगत गौचन, राजाराम श्रेष्ठ, परशुराम तामाङ, रामशरण पाठक, जयलाल पुन, रामचन्द्र राय, दिपकबहादुर सिंह, अजय थापा, सम्झना चौधरी, केदारवहादुर अधिकारी, केदार न्यौपानेसहित ४९ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेका हुन् । राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ ।

प्रकाशित मिति : July 21, 2022 at 3:51 pm