१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सन्ताेषी माताकाे मन्दिरबाट सुनचाँदीका गहना चाेर्ने ३ जना पक्राउ

२ साउन, काठमाडाैं । काठमाडौंको नक्साल नागपोखरीस्थित सन्तोषी माताको मुर्तीमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै असार २३ गते राती १ बजेको समयमा सन्तोषी माताको मन्दिरको ताल्चा फोडी चोरी गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा परिसर तथा प्रहरी बृत्त मालीगाउँबाट संयक्तरुपमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

घटनाबारे जानकारी पाउने बितिकै मन्दिरमा पुगी अनुसन्धानका बिविध बिधि र प्रविधिहरुको प्रयोग गरी घटनामा संलग्न अभियुक्तको पहिचान एवं चोरी भएका गरहगनासहितको खोजी कार्य शुरु गरिएको र मुर्तीमा जडित सुनचाँदीको गरगहना लगायतका सामाग्रीसहित नियन्त्रणमा लिइएको परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

पक्राउ पर्नेमा गौरीघाट बस्ने सबिना पराजुली, खरिबोट बस्ने विष्णु पछाई र गौरीघाट सिद्दार्थ बुढाथोकी रहेको उहाले बताए । उनीहरुबाट सुनको तिलहरी, चाँदीको करुवा , चाँदीको चुकुन्दा, चाँदीको मुकुट, चाँदीको गिलास लगाएतका सामाग्री फेला परेको मैनालीले बताए । पक्राउ गर्नेहरुलाई काठमाण्डौ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई प्रहरी बृत्त, मालीगाउँबाट थप अनुसन्धान भईरहेको मैनालीले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १८:५३