प्रचण्ड र माधव नेपाल बामपन्थी एक बन्ने अभियानमा लागेपछि देउवाले बोलाए पदाधिकारी बैठक
१९ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वामपन्थी एक हुने भन्ने अभियानमा केन्द्रीत हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाएका छन ।
देउवाले यही असार २१ गते पार्टीको पदाधिकारी बैठक बोलाएका हुन । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ । कांग्रेसले स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल गर्न यही असार २७ गते केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ । कांग्रेसमा हाल सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १४ पदाधिकारी छन्, कोषाध्यक्ष भने मनोनीत हुन बाँकी छ ।
प्रकाशित मिति : July 3, 2022 at 10:06 pm









