८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमाले बागमतीले अभियानकै रूपमा श्रावण महिनाभर संगठन सुदृढीकरण र शुद्धिकरण गर्ने

१९ असार, काठमाडाैँ । “श्रावण महिनाभर नेकपा एमालेले संगठन सुदृढीकरण र शुद्धिकरण (सुशु )अभियान संचालन गर्ने” निर्णय गर्दै नेकपा एमाले बाग्मती प्रदेश कमिटी द्वारा आयोजित “संगठनात्मक ब्यवस्थापन र परिचालन” विषयक दुई दिने कार्यशाला गोष्ठी हिजो असार १८ गते शुरु भएर आज १९ गते काठमाडौमा सम्पन्न भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा र बाग्मती प्रदेश कमिटी अध्यक्ष केशवराज पान्डेको अध्यक्षतामा आयोजित कार्यशाला गोष्ठीमा नेकपा एमाले केन्द्रिय संगठन विभाग प्रमुख खगराज अधिकारी, स्थायी समिति सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसै गरि नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष विष्णु पौडेलले संगठन सुदृढीकरण र परिचालन को सम्बन्धमा विशेष प्रशिक्षण दिएका थिए ।

कार्यशाला गोष्ठीमा प्रमुख अतिथि केपी शर्मा ओलिले पार्टी कमिटी भित्रको आन्तरिक एकतालाई बलियो र पार्टीपंक्तिलाई एकढिक्का बनाउदै पार्टी संगठनलाई मजबुत र गतिशील बनाउन जिम्मेवारी बोधका साथ काममा लाग्न साथै स्थानीय तह निर्वाचनमा पार्टीभित्र का नेता कार्यकर्ताहरुको तहबाट भएका कमजोरीहरुको निर्मम समिक्षा गर्दै आगामी दिनमा त्यस प्रकारको कमजोरी हुन नदिने तर्फ सचेत हुन कमिटीहरु लाई निर्देशन दिए ।

नेताहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले नेताहरुको जिबन सादा र शुद्द आचारण हुनुपर्ने तथा जनप्रतिनिधिहरु शासक नभई जनताको असली सेबकको रूपमा कृयाशिल हुन समेत विशेष जोड दिए । कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्र माथी ५ वटा समुह बनाएर छलफल गरि प्रत्येक समुहको तर्फबाट टोली नेताहरुले समुहगत छलफलको निष्कर्षलाई सुझावको रूपमा प्रस्तुत गरेका थिए ।

कार्यशाला गोष्ठीमा बाग्मती प्रदेश कमिटीको तर्फबाट प्रदेश इन्चार्ज, सहइन्चार्जहरु र पदाधिकारीहरु, जिल्ला इन्चार्जहरु र सहइन्चार्जहरु, १३ जिल्लाका पार्टी जिल्ला कमिटी अध्यक्ष,सचिब र संगठन बिभाग प्रमुखहरु र पार्टी सम्बद्ध २२ वटा जनसंगठनका बाग्मती प्रदेश कमिटी अध्यक्षहरु गरि कुल ९० जनाको सहभागिता रहेको एमाले बागमिका प्रचार विभाग प्रमुख महेश बर्ताैलाले जानकारी दिए ।

कार्यशाला गोष्ठीले पार्टीको संगठनात्मक कामलाई मुख्य प्राथमिकताका साथ एकताबद्ध ढंगले अगाडि बढाउदै नेकपा एमालेलाई जनताको बीचमा बिजयी शक्तिको रूपमा स्थापित गराउन “श्रावण महिनाभर संगठन सुदृढीकरण र शुद्धिकरण ( सुसु ) अभियान संचालन गर्ने” निष्कर्ष निकालेको छ । कार्यक्रममा एमालेका नेताहरु भानुभक्त ढकाल, आनन्द पोखरेल, अरुण नेपाल, पार्वत गुरुङलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : July 3, 2022 at 9:20 pm