नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुव गौतम नै किरा परेको पानी बेच्छन (भिडियोसहित)
१५ असार, काठमाडौँ । नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुव गौतमले नै किरा परेको पानी बिक्री गर्ने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २१ जैसिदेवलमा स्थानीय जनार्दन मुडभरीले किनेको जारको पानीमा किरा भेटिएको हो ।
गौतमको स्नो वेभरेज प्रालि टोखा ९ सरस्वतीले उत्पादन गर्ने स्नो एक्सिस नामको पानीमा किरैकिरा भेटिएको हो । यसअघि पनि स्नो एक्सिसको पानीमा अखाद्य पदार्थहरू भेटिएको थियो । काठमाडौँमा हैँजाका कारण झाडापखलाको समेत प्रकोप देखिइरहेको अवस्थामा स्नो एक्सिसको पानी पिउनुअघि सोच्नुपर्ने भएको छ ।
स्नो वेभरेजको सिलसहितको जारमै यसरी लामखुट्टेका लार्भाहरू देखिएपछि जैसिदेवलका स्थानीय भने उक्त पानी नखाने निष्कर्षमा पुगेका छन । किरा परेको पानी भेटेपछि दैनिकीको सम्पर्कमा आइपुगेका मुडभरीले ज्यानको जोखिम बनाउने यस्ता प्रदुषित पानी खान नहुने र नियमक निकायले कारबाही गर्नुपर्ने बताए ।

उनले बजार क्षेत्रमा यसरी किरा परेको पानी बेच्ने माथि हदैसम्मको कारबाही हुनुपर्ने र प्रदुषित पानी बेच्ने कम्पनीमा सिल लगाउनुपर्ने बताए । उनले पानीमा किरा परेको जानकारी पाएपछि कम्पनीका व्यक्तिहरूले जार नियन्त्रणमा लिएर खोल्न खोजेपनि आफूले सरकारी अनुगमन टोलीलाइ नदेखाई नदिने बताएको मुडभरी बताउँछन ।
उनका अनुसार स्नो वेभरेजका प्रतिनिधिले तेरो गुनासोले केही हुँदैन, सब हाम्रो सेटिङ छ भन्दै उल्टै धम्की समेत दिएका छन । दैनिकीले कम्पनीका सञ्चालक गौतमसँग सम्पर्कको कोशिश गरे पनि सम्पर्क हुनसकेन ।
यसैबीच सरकारले जारको पानी पिउँदा सावधानी अपनाउन आग्रह गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारको गुणस्तर नम्बर भएको तथा बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्र प्रयोग गर्न आग्रह गरेको हो ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामीको सङ्ख्यामा वृृद्धि हुन थालेपछि विभागले पानीको गुणस्तर हेरेर प्रयोग गर्न आग्रह गरेको हो ।
विभगाले आज एक सूचना जारी गर्दै प्रशोधित पिउने पानी र जारको लेवलमा ‘डिएपटिक्यु’ नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्न आग्रह गरेको हो ।
यस्तै, प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानलाई पूरा गरेर मात्रै पानीको बिक्रीवितरण गर्न उद्योगीलाई अनुरोध गरिएको छ । कानूनबमोजिम अनुज्ञापत्र लिई नवीकरण नगरी पानी बिक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।
प्रकाशित मिति : 16:13









