२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मूल्यवृद्धि विरूद्ध एमाले जनसंगठन परिचालन गरेर आन्दोलनमा, यस्ता छन बिरोधका कार्यक्रम

१० असार, काठमाडाैँ । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकले पेट्रोलियम पदार्थ, खाद्यबस्तु लगायतमा भएको चर्को मूल्यवृद्धि विरूद्ध आन्दोलनमा उत्रने निर्णय गरेको छ । २०७९ साल असार ९ गते पार्टी कार्यालय च्यासलमा बसेको संयन्त्रको बैठकले आन्दोलनलाई सडकदेखि सदनसम्म बुलन्द पार्ने निर्णय गरेको संयन्त्रका संयोजक तथा पार्टी स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले जानकारी दिएका छन ।

पेट्रोलियम, खाद्यपदार्थ लगायतमा मूल्यवृद्धि, पाठ्यपुस्तकको अभाव, धान रोपाइको समयमा मलखादको अभाव जस्ता विषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ, नेपाल लगायत आन्दोलनमा छन् ।

जारी आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै पार्टीका सबै २२ वटै जनवर्गीय संगठनहरू सडक आन्दोलनमा उत्रने भएका हुन् । जनवर्गीय संगठनहरूको आन्दोलनमा स्थानीय पार्टीपङ्तीको पनि सहभागिता हुने छ ।

पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा भएको बैठकको अध्यक्षता संयन्त्रका संयोजक भानुभक्त ढकालले गरेका थिए । बैठकमा संयन्त्रका सहसंयोजक, सबै जनवर्गीय संगठनका इञ्चार्ज, सहइञ्चार्ज, जनसंगठनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

‘वर्तमान परमादेशी सरकार अत्यन्तै गैर जिम्मेवार बन्यो, मूल्यबृद्धिले सीमा नाघ्यो, जनताको समस्याप्रति बिल्कुलै वास्ता गरेन, यो सरकारले जनतामाथि महङ्गीको मार थपिरहने प्रष्टै भएपछि आन्दोलनको विकल्प रहेन’, संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य ढकालले भने ।

यसैबीच जनवर्गीय संगठनमा काम गर्ने नेता कार्यकर्तालाई प्रशिक्षण दिने तयारीका साथ पार्टीको केन्द्रीय स्कुल विभागले पाठ्यक्रमको नयाँ मस्यौदा तयार गरेको छ । उक्त पाठ्यक्रमलाई समृद्ध बनाउन बैठकमा जनवर्गीय संगठनका नेताहरूले सुझाव दिएका थिए ।

प्रकाशित मिति : June 24, 2022 at 9:39 am