जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण अधिकारी निर्वाचित
३१ जेठ, चितवन । जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायण प्रसाद अधिकारी विजयी भएका छन् । मंगलबार (आज) सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी भएका हुन् । दुवै उम्मेद्वारले ७/७ मत ल्याएका थिए ।
जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित भएका हुन् ।
एमाले पक्षले आफ्नो पक्षमा मत ल्याउन राप्ती नगरपालिका प्रमुख नेकपा एसका शमशेर लामालाई रिझाउने प्रयास गरेको थियो । तर गठबन्धनको सबै ७ मत नेपाली काँग्रेसका रानाभाटतिर पुगेपछि निर्वाचनको नतिजा गोलाप्रथाबाट गरिएको हो । उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भइसकेकी छन् ।
यसअघि नै मत बराबर हुने देखेपछि एमालेको जिल्ला नेतृत्वले आफ्नो पक्षमा मत ल्याउन राप्ती नगरपालिका प्रमुख नेकपा एसका शमशेर लामालाई रिझाउने प्रयास गरेको थियो । सोही अनुसार नेकपा एमालेले उपप्रमुख पदमा उम्मेदवारी दिएन । जसका कारण एकीकृत समाजवादीबाट उम्मेदवार कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भइन् ।
प्रमुख पदमा एमालेलाई एकीकृत समाजवादीले सघाउने आन्तरिक सहमती अनुसार नै एमालेले उपप्रमुखमा उम्मेदवारी नदिएको जनाएको छ । तर गठबन्धनको सबै ७ मत नेपाली काँग्रेसका पूर्णबहादुर रानाभाटतिर पुगेपछि निर्वाचनको नतिजा गोलाप्रथाबाट गरियो ।
एकीकृत समाजवादीले साथ नदिएपनि गोलाप्रथा गर्दा एमालेलाई भाग्यले साथ दियो र एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका नारायण प्रसाद अधिकारी निर्वाचित हुनुभयो । एमालेले एकीकृत समाजवादीले अन्तिम समयमा आएर धोका दिएको बताएको छ । चितवनका सात पालिका मध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो ।
प्रकाशित मिति : June 14, 2022 at 4:37 pm









