१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सशस्त्र प्रहरी बललाई विपद् उद्वार सामाग्री हस्तान्तरण

२९ जेठ, काठमाडाैँ । बालकृष्ण खाँणले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तर्फबाट उपलब्ध गराईएको ९७ लाख रुपैयाँ बराबरको विभिन्न विपद् उद्वार सामाग्री समेत हस्तान्तरण गरेका छन ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. २ गोताखोर तालिमको समापन समारोहमा विभिन्न विपद् उद्वार सामाग्री हस्तान्तरण गरेका हुन ।

सोही अवसरमा गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाल तालिम शिक्षालय कुरिन्टारमा रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एक्जिविसन सेन्टरको समेत अवलोकन गरे ।

सोही समारोहमा गृहसचिव टेकनारायण पाण्डेले विपद्मा परेका आम नागरिकको जीउ धनको सुरक्षा गर्नु सबैको कर्तव्य रहेको चर्चा गर्नुहुँदै विपद् तथा महामारी आउनु भन्दा पहिल्यै तयारी भएर बस्न सकिएमा कार्यक्षेत्रमा सदैव सफलता मिल्ने बताए ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा तल्लीन रहँदै राज्यले सुम्पिएको दायित्व र जिम्मेवारीका क्षेत्रहरुमा कटिवद्ध र त्रुटिरहित ढंगबाट परिचालन हुने बताउँदै आपत विपद् र महामारीको समयमा समेत अग्रपंक्तिमा रहेर आम नागरिकको जीउ धनको सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपाल अहोरात्र क्रियाशिल रहिरहने बताए ।

उनले यस्ता तालिम आफैमा जोखिमयुक्त र चुनौतीपूर्ण रहेको बताउँदै विपद् व्यवस्थापन तथा जोखिमयुक्त उद्वार कार्यमा खटिने सुरक्षाकर्मीलाई खटिएको समयमा दैनिक भत्ताको व्यवस्था भएमा उद्वारमा परिचालन हुने सुरक्षाकर्मीहरुको मनोवल उच्च हुने उल्लेख गरे।

समारोहमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारसँग सहकार्य गरेर गोताखोर तालिम सम्पन्न गराउन पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत शिक्षालयसँग सहकार्य र समन्वयन गर्दै अगाडी बढने उल्लेख गरे ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारका समादेशक का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलले स्वागत मन्तव्यको क्रममा गोताखोर जस्तो महत्वपूर्ण तालिम संचालन गर्न पाउँदा यसलाई एउटा अवसरको रुपमा लिएको बताउँदै आगामी दिनहरुमा समेत यस खालका तालिम निरन्तर चलिरहने विश्वास व्यक्त गरे ।

पाँच हप्ता अवधिको उक्त तालिम २० जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीस्थित सप्तकोशी नदि, पोखराको फेवाताल र मकवानपुरको ईन्द्र सरोवरमा समेत तालिमको अभ्यास गराईएको थियो ।

सोही अवसरमा नदिजन्य दुर्घटनामा उद्वार सम्बन्धि डेमो समेत प्रदर्शन गरिएको थियो । सो समारोहमा राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहट्ठा, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, धादिङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर लम्साल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा नेपाल प्रहरीका जिल्लास्थित प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आईतवार ०७:३६