शेयर बजारमा यस साता १ अर्ब बढीको कारोबार
९ भदौ,काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल ४४ लाख २१ हजार ९५० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १७ दशमलव ८४ प्रतिशत कम हो ।
गत साता १८५ कम्पनीको ४५ लाख दुई हजार चार सय ५० कित्ता शेयर रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार मूल्यमा खरीद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव ७९ अङ्कले घटेर अन्तिम दिन एक हजार १७८ दशमलव ५० अङ्कमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ५४ अङ्कले घटेर २४८ दशमलव ९९ अङ्कमा आइपुगेको छ । यस साता कारोवार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु छ करोड ६१ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ ।
यस्तै कारोबार भएको सेयरका आधारमा पनि सोही बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख १३ हजार कित्ता शेयर खरीद बिक्री भएका थिए । यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन ।
प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार १८:४९