आजदेखि शुक्रबार पनि सेयर बजार खुल्ने, यो साता ६ दिन कारोबार
२७ चैत, काठमाडौं ।सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार तालिका परिवर्तन गरिएको छ। अब आइतबार सेयर काराेबार बन्द हुने भएकाे छ भने शुक्रबार सेयर बजार खुल्ने भएको छ।
नेप्से सञ्चालक समितिको चैत २२ गते बसेको बैठकले सोमबारदेखि शुक्रबारसम्म नियमित कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो। सो व्यवस्था चैत २७ गतेदेखि लागू हुने जनाइएको छ। याेसँगै नेपाली सेयर बजारमा शुक्रबार पनि नियमित कारोबार हुने भएको हो।
यसअघि बजार आइतबारदेखि बिहीबारसम्म मात्र सञ्चालन हुँदै आएको थियो। तर सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै चैत २३ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले पनि आफ्नो कारोबार तालिका परिमार्जन गरेको हो।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार आइतबार सार्वजनिक बिदा परेकाले त्यसको सट्टामा शुक्रबार बजार खुला गरिएको हो। याे साता शुक्रबार पनि कारोबार सञ्चालन हुनेछ, जसका कारण यो साता कुल ६ दिन बजार खुला रहनेछ। आगामी हप्तादेखि भने नियमित रूपमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुनेछ।
प्रकाशित मिति : April 10, 2026 at 10:18 am









