१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नुवाकोटमा समाजवादी प्रभावः आफूले एक वडा सदस्य जित्यो, तीन पालिकामा एमाले हरायो

-पवित्रा मुडभरी 

९ जेठ, नुवाकोट । अध्यादेशबाट जन्मिएको नेकपा एकीकृत समाजवादी पार्टीले नुवाकोटमा एक वडा सदस्यमा विजय प्राप्त गरेको छ । वास्तविकतामा अन्य दलले उम्मेदवार नै नपाउँदा बेलकोटगढी नगरपालिकाको वडा नम्बर १ को दलित महिला सदस्यमा समाजवादीकी ठुलीकान्छी नेपाली निर्विरोध निर्वाचित भइन । यो २०७९ को स्थानीय निर्वाचनमा  समाजवादीले नुवाकोटमा प्राप्त गरेको सकारात्मक सफलता त्यती हो ।

समाजवादीको केन्द्री नीति अनुसार देशभर नेकपा एमाले पत्तासाफ गर्ने अभियानमा नुवाकोटमा पनि केही सफलता प्राप्त गरेको छ । समाजवादीले नुवाकोटको शिवपुरी र तादीमा गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार हराउन सफल देखिएको छ भने ककनी गाउँपालिकामा उपाध्यक्ष पराजित गर्न सफल देखिएको छ । नुवाकोटमा समाजवादीले आफ्नो उम्मेदवार भएको ठाउँमा आफ्ना उम्मेदवार र नभएको ठाउँमा एमालेको विरूद्धमा जो जित्ने छ उसैलाई मत दिने निर्णय गरेको थियो ।

यस्तो छ तीन पालिकामा एमाले र समाजवादीले प्राप्त गरेको मत

जिल्लाको शिवपुरी गाउँपालिकामा विजेता नेपाली कांग्रेसका गोविन्द प्रसाद थपलियाले ४१८२ मत ल्याउँदा नेकपा एमालेका जितेन्द्र विष्टले ३२६८ मत प्राप्त गरेका छन । विजेता र एमाले उम्मेदवारको बीचको मतान्तर ९४१ रहेको छ । जबकी नेकपा एकीकृत समाजवादीका पदमबहादुर उप्रेतीले ४०७३ मत प्राप्त गरेका छन । यसमा उनको मतमा करिब १५ सय माओवादीको मत जोडिएको भए पनि बाँकी मत एमालेबाट विभाजित मत रहेको देखिन्छ ।

त्यस्तै ककनी गाउँपालिकामा विजेता उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मिठुमाया लामाले ४१७४ मत ल्याएर विजयी हुँदा एमालेकी लजिता लामाले ३७७१ मत प्राप्त गरेकी छिन । मिठु र लजिताको बीचमा ४०३ मतको अन्तर रहेको छ जबकी उपाध्यक्षमै नेकपा एकीकृत समाजवादीका जितबहादुर बलामीले १२९१ मत प्राप्त गरेका छन ।

त्यस्तै तादी गाउँपालिकामा नेपाली कांग्रेसका सन्तामान तामाङले ३२४१ मत ल्याएर विजयी भए । नेकपा एमालेका विजयकुमार खनालले १८३० मत प्राप्त गरे । उनीहरूको बीचको मतान्तर १४११ रहेको छ । जबकी नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद लामिछानेले १९४० मत प्राप्त गरेका छन । यहाँ पनि एमाले पराजित भएको छ । कतिपय वडामा पनि समाजवादीले एमालेलाई क्षति पुर्याउन सफल भएको छ । नुवाकोटमा समाजवादीले तादी र ककनीम गाउँपालिकामा एक्लै लडेको थियो बाँकीमा कतै कांग्रेस र माओवादी त कतै माओवादीसँगमात्र तालमेल गरेको थियो ।

समाजवादीको उम्मेदवारी कहाँ कहाँ थियो ? 

समाजवादीबाट शिवपुरी गाउँपालिकाको अध्यक्षमा पदम उप्रेती, वडा नम्बर ८ को अध्यक्षमा पदमप्रसाद थपिलिया र वडा नम्बर ४ को अध्यक्षमा ओमबहादुर बुढाथोकी उम्मेदवार रहेका थिए । बाँकीमा यस पालिकामा समाजवादीले माओवादीलाई सहयोग गरेको थियो ।

त्यस्तै तादी गाउँपालिकामा अध्यक्षमा कृष्णप्रसाद लामिछाने, उपध्यक्षमा सरू मिश्र उप्रेती, वडा नम्बर १ को अध्यमा यमबहादुर तामाङ, वडा नम्बर २ मा प्रेमहरि श्रेष्ठ, वा नम्बर ३ मा अर्जुन श्रेष्ठ, वडा नम्बर ४ मा कुमार पाठक, वडा नम्बर ५ मा बाबुराम लामा र वडा नम्बर ६ मा सूर्यबहादुर तामाङले प्रतिस्पर्धा गरेका थिए ।

सूर्यगढी गाउँपालिका अध्यक्षमा ध्रुव अधिकारी र वडा नम्बर ३ को अध्यक्षमा रोजराज अधिकारीले प्रतिस्पर्धा गरेका थिए । लिखु गाउँपालिका वडा नम्बर २ मा हरिप्रसाद ढकाल र पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गणेशबहादुर थापाले प्रतिस्पर्धा गरेका थिए ।

ककनी गाउँपालिकाको उपाध्यक्षमा जितबहादुर बलामी, वडा नम्बर १ को अध्यक्षमा राजेश बलामी, वडा नम्बर २ को अध्यक्षमा मानबहादुर लामा, वडा नम्बर ३ को अध्यक्षमा नवराज बजगाइ, वडा नम्बर ४ को अध्यक्षमा योगेन्द्र तामाङ, वडा नम्बर ५ को अध्यक्षमा रिलबहादुर तामाङ, वडा नम्बर ६ को अध्यक्षमा शेरबहादुर लामाले प्रतिस्पर्धा गरेको थियो । यहाँ गाउँपालिका अध्यक्षमा समाजवादीले माओवादीलाई सहयोग गरेको थियो ।

समाजवादीले किस्पाङ गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा पाल्देन लामा उम्मेदवार थिए जसले एक मत पनि पाएनन् ।  विदुर नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा रामकाजी दिक्षित उम्मेदवार रहेका थिए । त्यस्तै बेलकोटगढी नगरपालिकाको प्रमुखमा सानुकुमारी लामा र उपप्रमुखमा प्रकाश नेपाल उम्मेदवार रहेका थिए ।

वडा नम्बर १ को दलित महिला सदस्यमा ठुलीकान्छी नेपाली निर्विरोध निर्वाचित भइन । वडा नम्बर २ मा गोपीप्रसाद रेग्मी, वडा नम्बर ४ मा सुजता नेपाल पाण्डे, वडा नम्बर ५ मा रामप्रसाद भुर्तेल, वडा नम्बर १० मा अप्सरा घिमिरे, वडा नम्बर ११ को अध्यक्षमा सुनिल तामाङ, वडा नम्बर १२ को अध्ययक्षमा सागर अधिकारी, वडा नम्बर १३ को अध्यक्षमा गणेशकुमार लोहनी उम्मेदवार रहे ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १०:१२