४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सबै अस्पतालले सात दिनभित्र सेवा शुल्कको सूची सार्वजनिक गर्नुपर्ने


२२ फागुन, काठमाडौँ । सबै अस्पतालले सात दिनभित्र सेवा शुल्कको सूची सार्वजनिक गर्नुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सात दिनभित्र सम्पूर्ण सेवा शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य उपचार क्रममा स्वास्थ्य संस्थाले मनोमानी शुल्क लिने क्रम बढेपछि सरकारले कडाइ गर्ने संकेत दिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार अस्पताल, मेडिकल कलेज र नर्सिङहोमहरुलाई पत्रचार गर्दै सेवाग्राहीसँग लिनेगरेको शुल्क सहितको विवरण बुझाउन निर्देशन दिएको हो ।

ओली नेतृत्वमा सरकार बने पनि पूर्ण रुपमा मन्त्रिपरिषद् विस्तार नभएकाले स्वास्थ्य मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका छन् ।

मन्त्रालयले स्वास्थ्योपचारमा लाग्ने शुल्क अनिवार्य रूपमा सार्वजनिक गर्न निर्देशन दिँदै सरकारी र निजी अस्पताललाई सेवाग्राहीसँग लिने गरेको शुल्कसहितको विवरण बुझाउन भनेको छ ।

आधा दर्जन सरकारी अस्पतालसहित सहकारी र निजी अस्पताललाई पनि पत्राचार गरेको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख एवं शुल्क निर्धारण कार्यदलका संयोजक डा. भोलाराम श्रेष्ठले बताए ।

उपचार शुल्कमा हुने मनोमानी रोक्न स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्दे्िशका २०७० मा स्वास्थ्यसचिव नेतृत्वको शुल्क निर्धारण समितिको व्यवस्था गरिएको थियो ।

सो समितिले डा. श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले प्रतिवेदन तयार पारी शुल्क निर्धारण समितिलाई बुझाउने भएको छ । शुल्कको मापदण्ड तयारी गरी कार्यान्वयन गराइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार १५:३८