१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

राष्ट्रिय ध्वजावाहक नेवानिको क्षमता अभिवृद्धि गर्न नाट्टाको माग

१ भदाै,  काठमाडाैँ ।  नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले पर्यटन क्षेत्रको विकासका लागि हवाई क्षेत्रको विस्तार गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष सीएन पाण्डेको नेतृत्वमा बिहीबार नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक तथा उच्च व्यवस्थापकलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि गर्न विदेशी विमान सेवासँग साझेदारीका लागि पहल गर्न माग गरेको हो ।

नाट्टा अध्यक्ष सिएन पाण्डेले तेस्रो मुलुकलगायत युरोप, अमेरिकाजस्ता देशका शहरमा हाल नेपाल वायुसेवा निगमको सेवा नगन्य रुपमा रहेको हुँदा त्यस्ता गन्तव्यमा समेत सेवा विस्तार गर्न माग गरे । अध्यक्ष पाण्डेले नेपाल एयरलाइन्सको विज्ञापन रणनीति केही कमजोर रहेको भन्दै नाट्टाले नयाँ प्रविधिको उच्चतम उपयोग गर्दै बजारमा प्रभावकारी उपस्थित देखाउनुपर्नेमा जोड दिए ।

नाट्टाले निगमद्वारा प्रदान गरिने आन्तरिक हवाई सेवाको भाडादर महङ्गो भएको, प्रमुख पर्यटकीय स्थलमा जानसमेत नमान्ने गरेको उल्लेख गर्दै सहज सेवा प्रदान गर्न र स्तरीय भाडादर कायम गर्न आग्रह गरेको पण्डेले बताए ।  यस्तै, वायुसेवा निगमबाट सञ्चालित उडान ढिला हुने गरेकाले तत्काल यसको सम्बोधन हुनुपर्नेमा पनि नाट्टाले जोड दिएको छ ।

नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईले छिमेकी मुलुक चीनका विभिन्न शहरमा उडान भर्दा जहाज महङ्गो भएको भन्दै नेपाल वायुसेवा निगमले उडानलाई विस्तार गर्नुपर्ने बताए । “नेपाल वायुसेवा निगमले चीनसँगै सिधै उडान भरे नेपालमा चिनियाँ पर्यटक धेरै भित्राउन सकिन्छ,”–उनले भने ।

भेटका क्रममा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नाट्टाले राखेको माग यथाशक्य चाँडो सम्बोधन हुने विश्वास व्यक्त गरे । “नयाँ जहाज किन्नका लागि अर्थ मन्त्रालयबाट रु ६ अर्ब विनियोजन हुने प्रक्रियामा छ, रकम विनियोजन भएपछि नयाँ जहाज आउँछ, त्यसले गर्दा पर्यटन विकासमा ठूलो सहयोग पुग्नेछ,”–उनले भने । प्रबन्ध निर्देशक कंसाकारले तत्काल कोरिया, जापानलगायत मुलुकमा विमानले सेवा विस्तार गर्ने बताए ।

प्रकाशित मिति : August 17, 2018 at 8:11 am