२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

गाँजा खेतीका लागि अनुमति दिन कानुन तयार, खेती गर्नेका लागि करोडपति हुने बाटो खुल्यो


१२ फागुन, काठमाडाैँ । सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो ।

मन्त्रालयले विधेयक तयार पारेर फागुन १० गते मंगलबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उपाध्यायका अनुसार विधेयकमा गाँजाको उत्पादन, संकलन, विक्रि वितरण र निकासी कसरी गर्ने भन्ने विषयमा समेटिएको छ । त्यो विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ ।

यो विधेयक कानुन भएर आएपछि लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ । ‘लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज यो विधेयक कानुन भएर आएपछि खुल्छ,’ उपसचिव उपाध्यायले भन्नुभयो ।

मन्त्रालयले केही दिन अघिमात्रै सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा ‘गाँजाको औषधिय प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख थियो । यो विधेयक कानुन बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने तयारी मन्त्रालयको छ ।

काठमाडौँ विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न र थुप्रै संघ संस्था तथा फर्महरूले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति मागिरहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १४:३९