२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

तीन महिनामा ६० हजार २३८ थान ई–पासपोर्ट जारी

९ फागुन, काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले पछिल्लो ३ महिना ८ दिनको अवधिमा कूल ६० हजार २३८ थान विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) जारी गरेको छ । विभागले गत मंसिर १ गतेदेखि फागुन ८ गतेसम्मको अवधिमा ती ई–पासपोर्ट जारी गरेको हो ।

‘हालसम्म हामीले ६० हजार २३८ थान ई–पासपोर्ट जारी गरिसकेका छौं,’ राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले न्युज कारखानासँग भने, ‘विभागबाट ४० हजार ८७९ थान, जिल्लाबाट १८ हजार ४३७ थान र विदेशस्थित नेपाली नियोगबाट ९२२ थान ई–पासपोर्ट जारी भएको छ ।’

विभागले मेसिनले पढ्ने पासपोर्ट (एमआरपी) बन्द गर्दै गत मंसिर १ गतेबाट ई–पासपोर्ट जारी गर्न सुरु गरेको हो । पहिलो ई–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।

विभागले अहिले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्ने तयारी गरिरहेको छ । नेपाल भित्र अहिले ४२ भन्दा बढी जिल्लाबाट ई–पासपोर्ट जारी गर्न सुरु गरिएको छ ।

झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर, काभ्रे, रामेछाप लगायतका जिल्लाबाट अहिले ई–पासपोर्ट जारी भइरहेको छ ।

साउदी अरब, मलेसिया र कतारमा रहेका नेपाली नियोगबाट पनि ई–पासपोर्ट जारी गर्ने कार्य सुरु भइसकेको छ । विदेशस्थित नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्न आवश्यक सामाग्री पठाइसकिएको छ । छिट्टै सबै नेपाली नियोगले ई–पासपोर्ट जारी गर्न सुरु गर्ने महानिर्देशक अर्यातलले बताए । हाल नेपालको ३० देशमा दूतावास, ३ स्थानमा स्थायी नियोग र ७ स्थानमा महाबाणिज्य दूतावास रहेका छन् ।

विभागले ई–पासपोर्ट जारी गर्न सबैभन्दा बढी प्राथमिकता खाडी राष्ट्रमा रहेका नेपाली नियोगलाई दिएको छ । ती राष्ट्रमा ठूलो संख्यामा नेपाली रहेका कारण प्राथमिकतामा राखिएको हो । अहिले विभागमा ई–पासपोर्टको लागि दैनिक ११ देखि १२ सयसम्मको आवेदन पर्ने गरेको छ । जिल्ला, नियोग र विभागमा गरी दैनिक दुई हजारसम्म आवेदन पर्ने गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १५:२२