२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रजातन्त्र दिवसमा खोटाङका पाँच कैदीको सजाय मिनाहा

७ फागुन, खोटाङ । प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार शाखा खोटाङका पाँच कैदीले सजाय मिनाहा तथा आममाफी पाएका छन् । विभिन्न मुद्दामा फरक–फरक समयदेखि जिल्ला कारागार शाखा दिक्तेलमा जेल जीवन बिताइरहेका पाँच कैदीले नेपाल सरकार मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयबाट कैद सजाय मिनाहा तथा आममाफी पाएका हुन् ।

कैद सजाय मिनाहा तथा आममाफी पाउनेमा ज्यान मार्ने उद्योगका तीन जना, कर्तव्य ज्यान र डाँका मुद्दाका एक/एक जना छन् । ज्यान मार्ने उद्योगका खेमराज बुढाथोकी, प्रभाकर राई र मित्रबहादुर खत्री, कर्तव्य ज्यान मुद्दाका गोपाल राई र डाँका मुद्दामा जेल जीवन बिताइरहेका राजेश राईले कैद सजाय मिनाहा तथा आममाफी पाएको कारागार शाखाले जनाएको छ ।

तोकिएको कैदको ५० प्रतिशत कैद भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीहरूको बाँकी कैद छोट्याएर माफी गर्नका लागि मन्त्री परिषद्को निर्णय अनुसार राष्ट्रपति कार्यालयले शुक्रबार सजाय मिनाहा तथा आममाफी दिएको सूचना प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १८:५४