२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

२१ र २२ फागुनमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

४ फागुन, काठमाडौं । एभरेष्ट नेपाल कल्चर ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते काठमाडौंमा ११औँ संस्करणको ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ हुने भएको छ ।

आयोजकले कोभिडका कारण प्रत्यक्ष सहभागिता सम्भव नहुने भएपछि भर्चुअल प्रविधिमार्फत मेलाको आयोजना गर्ने जनाएको छ । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले मेलामा नेपालसहित विश्वका ३० भन्दा बढी राष्ट्रबाट सहभागिताको लागि निश्चित भइसकेको बताए ।

उनका अनुसार यसपटक सांस्कृतिक मेलामा नेपालसहित इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिगापुर, स्लोभाकिया, साउथ अफ्रिका, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबेले सहभागिता जनाउँदै छन् ।

अध्यक्ष कोइरालाले वर्तमान युवा पिँढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेकाले अहिलेको अवस्थामा आफ्नो संस्कृति प्रवद्र्धनका निम्ती काम गर्न मेलाको आयोजना गरिएको बताए ।

संस्थाले २०५९ सालमा ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ पहिलो ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ को आयोजना गरेको थियो ।

संस्थाले २०७५ सालमा ‘अन्तर्राष्ट्रिय बालबालिका लोक सांस्कृतिक मेला’ आयोजना गरेपछि आयोजना गरेको थियो । त्यसपछि हरेक दुई बर्षमा मेला आयोजना गर्दै आएको संस्थाले २०७६ सालमा पर्यटन वर्ष २०२० सफल पार्न ‘दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ आयोजना गरेको थियो ।

अध्यक्ष कोइरालाले प्रथम अन्तर्राष्ट्रिय लोक सांंस्कृतिक मेलादेखि दशौं अन्तर्राष्ट्रिय लोक सांंस्कृतिक मेलासम्म आइपुग्दा करिब ५५ भन्दा बढी देशका पाँच हजार ५०० भन्दा बढी कलाकारहरूले आआफनो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांंस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको दाबी गरे ।

प्रकाशित मिति : February 16, 2022 at 4:30 pm