२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

युवकको हत्या आरोपमा तीन जना पक्राउ

३ फागुन, डडेल्धुरा । डडेल्धुरामा मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या गरिएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका-३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको हो।

सोमबार बिहान आलीताल गाउँपालिका–४ मा घाइते अवस्थामा भेटिएर उपचारका क्रममा जोगबुढा अस्पतालमा ज्यान गुमाएका सिजापतिको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा परशुराम नगरपालिका–१२ मा बस्दै आएका २४ वर्षीय आशिष बराल, आलीताल गाउँपालिका–८ बस्ने १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका–१२ बस्ने अटो रिक्सा चालक तेजबहादुर विक रहेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर पालले बताए। सिजापति र बराल आफन्त हुन्। आइतबार राति बरालको घरमा मृतकसहितका तीन जनाले सँगै बसेर मदिरा सेवन गरेको पाइएको डीएसपी पाल बताउँछन्।

अनुसन्धानका क्रममा उनीहरू तीनै जनाले मदिरा सेवन गरेपछि सिजापतिसँग विवाद हुँदा सोही क्रममा कुटपिट गरेर घाइते अवस्थामा अटोमा राखेर आलीताल गाउँपालिका–४ मा छाडेर गएको बयान दिएका छन्। ‘आपसी विवादका क्रममा सिजापतिमाथि कुटपिट भएको रहेछ। राति करीब १२ बजेको समयमा अटो रिक्सामा बोकेर घाइते अवस्थामा फालेका रहेछन्, ‘स्थानीयले देखेपछि हामीलाई खबर गरे। जोगबुढा अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा सोमबार उनको मृत्यु भयो,’ डीएसपी पालले भने।

हत्या आरोपमा पक्राउ परेका बराल र लोहनी मृतक सिजापतिका नातेदार हुन् भने अटो रिक्सा चालक उनीहरूको साथी हुन्। सिजापति आइतबार मात्र डोटीबाट आफन्त बरालको घरमा आएका थिए। पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : February 15, 2022 at 2:56 pm