२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

नेस्पोले वैज्ञानिक खेलकुद अनुसन्धान तथा प्रवर्धनमा सहयोग गर्ने

२७ माघ, काठमाडौं । नेपाली खेलकुदमा वैज्ञानिक अनुसन्धान तथा खेलकुदलाई प्रवर्धन गर्ने उद्देश्यसहित नेपाल खेलकुद अनुसन्धान तथा प्रवर्द्धन प्रतिष्ठान (नेस्पो) गठन भएको छ।

सुदूरपश्चिम खेलकुद विकास समितिका पूर्वअध्यक्ष साम्राज्यविक्रम पाँडेको अध्यक्षतामा गठित नेस्पोमा खेलकुदसँग सरोकार व्यक्ति तथा संस्थाहरूको संलग्नता रहेको छ।

धनगढी एफसीका सञ्चालक सुवास शाही, कैलाली ब्याडमिन्टन संघका पूर्वअध्यक्ष महेश शाह, संघका पूर्व कोषाध्यक्ष दीपेन्द्र कुमार श्रेष्ठ, हिमालय कलेजकी निर्देशक संगीता सिलवाल, खेल अभियन्ता विकास सिंह, कोरियाको कोईमुङ विश्वविद्यालयका प्राध्यापक डा सिद्धार्थ विक्रम पाँडेलगायत संस्थामा आबद्ध छन्।

‘जराबाट ओलम्पिक’ भन्ने मूल नारा रहेको संस्थाले खेलकुदमा समय सापेक्ष वैज्ञानिक तरिकाले अनुसन्धानात्मक र खेल विज्ञानको मर्म अनुसार योजनासहित विश्व खेलजगतसँग प्रतिस्पर्धी खेलाडी उत्पादनमा सरकारी तथा। गैरसरकारी संस्थाहरूसँग हातेमालो गर्दै अघि बढ्ने अभियान संस्थाको रहेको अध्यक्ष पाँडेले बताए।

नेस्पोले प्रचलित विभिन्न खेलकुद का साथै पर्वतीय तथा पर्यटकीय खेलकुदसमेतको अनुसन्धान, प्रवर्द्धन तथा प्रदर्शनमा सहयोग पुर्‍याउने, खेलकुद सम्बन्धी पाठ्य सामाग्रीहरू प्रकाशन/प्रसारण/वितरण कार्य गर्ने, प्रतिभावान् खेलाडीहरू को पहिचानमा सघाउ पुर्‍याउँदै खेलकुदको मूल प्रवाहमा ल्याउने, वैज्ञानिक तरिकाले ग्रासरुटका खेलाडी उत्पादनमा सघाउ पुर्‍याउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलविज्ञ संलग्न गराई नियमित सेमिनार, गोष्ठी तथा तालिमको आयोजना गर्ने लक्ष्य लिएको छ।

यस्तै आर्थिक कारणले पछाडि परेका प्रतिभाशाली खेलाडीहरू लाई पहिचान गरी भौतिक तथा आर्थिक सहयोगका लागि विभिन्न निकायसँग पहल गर्दै सहयोग जुटाउने र स्वदेश तथा विदेशमा तालिमको लागि पहल गर्ने, मुलुक भित्र र मुलुक बाहिर रहेका नयाँ पुराना अनुभवी खेलविज्ञ, खेलकर्मीहरूको सञ्जाल बनाई मुलुकको खेल विकाशमा लाग्ने वातावरण बनाउने काम गर्ने लक्ष्य रहेको संस्थाका बोर्ड सदस्य तथा प्राध्यापक सिद्धार्थविक्रम पाँडेले बताए।

यस्तै संस्थाको मुख्य दुई वर्षको अन्तरालमा विश्वस्तरीय खेलकुदविज्ञलाई निमन्त्रणगरी अन्तर्राष्ट्रिय सम्मेलन को आयोजना गर्ने उद्देश्य लिएको छ। त्यसबाहेक देशको प्रतिनिधित्व गर्दै खेलकुदको माध्यम बाट देशको नाम उँचो पार्न लागिपरेका वा मुलुक भित्र। खेलकुद विकासमा समर्पित खेलाडी , खेल प्रशिक्षक, खेल पत्रकार, खेल प्रवर्द्धक खेलविज्ञ, खेल प्रायोजक , सहयोगी संस्था, खेल नीति निर्माताहरूका साथै नेपालमा खेलको विकासमा योगदान पुर्‍याउने स्वदेशी वा विदेशी व्यक्तिहरूलाई निश्चित मापदण्ड तयार गरी सम्मान गर्ने उद्देश्यसमेत लिएको छ।

यस्तै नेस्पोले एक वर्षभित्र गर्ने कार्यको सूचि समेत सार्वजनिक गरेको छ। एक वर्षभित्र संस्थाले सांगठनिक संरचना लाई मजबुत बनाउने, विदेशी खेल प्रशिक्षक भित्र्याउन चाहने खेलसंघहरूलाई सहजीकरणमा सहयोग गर्ने, प्रत्येक महिना खेल प्रशिक्षक र प्रशिक्षक बन्न इच्छुक व्यक्तिलाई विज्ञद्वारा प्रशिक्षणको व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय खेलसम्मेलन गर्ने, खेल विज्ञान विषयमा अध्ययन गर्न इच्छुक विधार्थीहरूलाई आवश्यक सुझाव तथा सहजीकरणमा सहयोग गर्ने उद्देश्य राखेको छ।

प्रकाशित मिति : February 10, 2022 at 6:27 pm