३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

विमानस्थलको अभावकै बीच नयाँ विमान थपिदै

काठमाडौँ । मुलुकभित्र सुविधा सम्पन्न विमानस्थलको अभाव भइरहेको बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि नयाँ विमान ल्याउन विभिन्न खालका तयारी गरिरहेको बेला निजी सेवा प्रदायक एक पछि अर्को गर्दै नयाँ विमान भित्र्याउन लागिपरेका हुन् ।

नेपालमा प्रतिष्ठित बुद्ध एयर, यति एयर, श्रीलगायतका निजी वायु सेवा प्रदायक मात्रै नभई भर्खर सञ्चालनमा आउन लागेका कम्पनीसमेत सेवा विस्तारका लागि नयाँ विमान खरिद गर्ने होडबाजीमा लागेका हुन् । मुलुकको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल साँघुरो भएको, उडान तथा अवतरणमा पालो कुर्नुपर्ने अवस्था रहेको छ । स्वदेशी मात्रै नभई विदेशी वायु सेवा प्रदायकसमेत उच्च ट्राफिक हुने दिउँसोको समयमा प्रतिक्षा गर्नुपर्ने भए पनि सेवा विस्तारका लागि भन्दै निजी वायु सेवा प्रदायक नयाँ विमान भित्र्याउन लागेका हुन् । विशेष गरी नयाँ ल्याउन लागिएका विमान धेरै यात्रु हुने क्षेत्र (ट्रङक रुट) नै केन्द्रित गरिँदा भने दुर्गम क्षेत्रमा सेवा पुग्न सकेको छैन । वायु सेवा प्रदायक कम्पनीका अनुसार ट्रङक रुटमा नै बढी प्रतिस्पर्धा हुने गरेको छ । बुद्ध एयरसँग हाल नौ वटा जहाज सञ्चालनमा रहेका छन् ।

अर्को एक जहाज केही समयभित्रै नेपाल भित्रने छ । आगामी दश वर्षमा ३२० सिरिजमा २० नयाँ विमान भित्र्याउने तयारीमा बुद्ध एयर रहेको छ । यस्तै यति एयरले हाल ३० सिट क्षमताका सात वटा जेटस्ट्रिम ४१ ट्विन टर्बो प्रोप विमान सञ्चालन गरिरहेको छ । यतिले निकट भविष्यमा नै एटिआर विमान भित्र्याउने तयारीमा रहेको छ । एकै पटक तीन वटा क्यानेडियन कम्पनीले उत्पादन गरेका जहाज ल्याएर प्रतिस्पर्धामा उत्रिएको श्री एयरले थप जहाज ल्याउने तयारी गरेको छ । सो कम्पनीका ५० सिट क्षमताका दुई वटा र ७८ सिटको एक जहाजले हाल सेवा दिइरहेको छ । श्री एयरले पनि नयाँ एउटा जहाज थप गर्ने तयारी गरेको छ । सो कम्पनीको आठ वटा हेलिकप्टर सञ्चालनमा छन् ।

प्रकाशित मिति : ७ माघ २०७४, आईतवार ०३:५७