२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : कमल थापा

१४ माघ, काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने बताएका छन् । उनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई सुझाव दिएका छन् । नेपालको संविधानले कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना नगरेको भन्दै सोही मान्यताअनुसार पदावधि समाप्त हुनुअघि नै नयाँ चुनाव गर्नुपर्ने व्यवस्था गरिएको उनले जिकिर गरेका छन् ।

नेता थापाले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘ संविधानमा तिनतहको सरकारको व्यवस्था छ। कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा छैन। यही मान्यताअनुसार पदावधि समाप्त हुनुअगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो। कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुनेछ ।’ सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा अघि बढेपछि राप्रपा पूर्वअध्यक्ष थापाले खबरदारी गर्दै आएका छन् ।

प्रकाशित मिति : January 28, 2022 at 11:45 am