१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

चाबहिल चोक र मित्रपार्कमा सार्न मिल्ने आकाशेपुल निर्माण हुने, मेयर शाक्यले गरे शिलान्यास

-सुदिप लामा

९ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्न मिल्ने खालका आकाशे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ । आज मात्रै पनि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दुईओटा आकाशेपुलको एकै पटक शिलान्यास गुर्नभयो ।

काठमाडौँ महानगरपालिका वडा–७ को चावहिलचोक र मित्रपार्कमा यस्ता दुई ओटा पुलको प्रमुख शाक्यले एकै पटक शिलान्यास गर्नुभएको हो । चावहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाई अनि मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइका दुई ओटा पुलको शिलान्यास गर्दै प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्र भिडभाड र दुर्घटना बढी हुने स्थानहरुमा आकाशे पुल निर्माणको अभियानलाई अघि बढाएको जानकारी दिनुभयो । ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ ।

अझ चावहिल चोकका बाटो फराकिलो भए पनि अत्याधिक जाम हुने ठाउँ हो,’ उहाँले भन्नुभयो, ‘स्थानीयको माग अनुसार चावहिल चोकमा यस अघि पनि आकाशे पुल निर्माण सम्पन्न भएको छ । त्यो पुल निर्माणपछि अहिले फेरि चक्रपथ ओरोलोतिर थप एउटा पुलको माग भएपछि महानगरपालिकाले आज यो पुलको शिलान्यास गरेको हो ।’

उहाँले आजै मित्रपार्कमा पनि अर्को पुलको शिलान्यास गरेको जानकारी दिनुभयो । ‘चावहिल चोकमा मात्रै हामीले एउटा निर्माण सम्पन्न गरिसक्यौँ, थप एउटाको आज शिलान्यास गर्र्यौ । मित्रपार्कमा पनि आजै एउटा आकाशेपुलको शिलान्यास गरेका छौँ,’उहाँले भन्नुभयो, ‘जयवागेश्वरीको पुलको काम पनि अघि बढेको छ । यसरी हेर्दा यो क्षेत्रमा मात्रै हामीले चारओटा पुल निर्माण गर्दैछौँ ।’

उहाँले सडक दुर्घटना कम गर्न र पैदलयात्रीलाई आवतजावतमा सहज हुने भएकाले बढी भिडभाड र दुर्घटना हुने स्थानमा पुल निर्माणको अभियान चलाएको जानकारी दिनुभयो । उहाँले स्थानीयवासीको सहयोग भयो भने आज शिलान्यास भएका दुई पुल पनि समयमै सम्पन्न हुनेमा आशावादी रहेको जानकारी दिनुभयो । ‘यो बाहेक पनि हामीले अन्य स्थानमा आकाशेपुल निर्माणको काम अघि बढाएको छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘माइतीघरमा हामीले निर्माण गरेको पुल अहिले सञ्चालनमा छ । अन्य ठाउँका लागि पनि हामीले ड्रोइङ–डिजाइनको काम गरिरहेका छौँ ।’

उहाँले केही ठाउँमा प्राविधिक समस्याका कारण कठिनाइ भएको बताउनभयो । ‘हामी छिटै यो काम अघि बढाउँछौँ,’ उहाँले भन्नुभयो, ‘हामीले खोला तर्ने र वडा जोड्ने गरी पनि पैदलयात्री आकाशेपुल बनाउने योजना अघि बढाएका छौँ ।’ वडा–७ का अध्यक्ष शुद्ध डंगोलले चावहिल चोक जतिखेर पनि जाम भैरहने र भिडभाड पनि बढी हुने भएकाले यो स्थानमा आकाशेपुल निर्माण गरेको जानकारी दिनुभयो । उहाँले पनि पुल निर्माणसँगै सडक दुर्घटना कम गर्न र पैदलयात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा लिएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका भौतिक पूर्वाधार विभागका प्रमुख राम थापाले ट्राफिक व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले सडक विभागको समेत समन्वयमा आकाशेपुल निर्माणको अभियान अघि बढाएको जानकारी दिनुभयो । ‘पछिल्लो समय ट्रष्ट र स्टील संरचनाका आकाशेपुल निर्माणमा जोड दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘आवश्यकता अनुसार कुनै पनि तोडफोड नगरी अन्य ठाउँमा पुनः प्रयोग गर्न मिल्ने भएकाले पछिल्लो समय यस्ता पुल निर्माणमा हामीले जोड दिएका छौँ ।’

उहाँले अहिलेसम्म यस्ता तीन ओटा निर्माण भैसकेको र एउटा अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । उहाँले यो वर्ष थप तीन ओटा पुल निर्माण गर्ने तयारी रहेको पनि जानकारी दिनुभयो । ‘हामीले सरकारी जग्गा भएको र फुटपाथ पनि भएको ठाउँ छनोट गरी बढी भिडभाड हुने स्थानमा थप पुल निर्माण गर्ने कार्यक्रम छ,’ उहाँले भन्नुभयो,’ ‘अहिले चावहिल र मित्रपार्कमा बन्न लागेका दुई पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रहेको छ ।’

काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेमकुमार श्रेष्ठले अहिलेसम्म माइतीघर चोक, चावहिल चोक र डल्लुमा यस्ताखाले पुल निर्माण भएको भन्दै आज चावहिल चोक र मित्रपार्कमा शिलान्यास भएको जानकारी दिनुभयो । उहाँले जयबागेश्वरी र विजयश्वरीमा पनि निर्माण प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

लामा प्रशिक्षार्थी पत्रकार हुन । 

प्रकाशित मिति : January 23, 2022 at 12:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/