१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

सन् २०२२ मा समृद्धिको सपना बोकेको एमालेको सरकार बन्ने अध्यक्ष ओलीको उद्घोष

-बालगोपाल उपाध्याय

१८ पुस, अष्ट्रेलिया । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ मा नेपालमा समृद्ध नेपाल निर्माणमा लागेको सरकारलाई हटाएर देशद्रोही सरकार निर्माण गर्ने बर्ष भएको बताएका छन । ओलीले नयाँ बर्ष २०२२मा नेपाली जनताले वर्तमान देशद्रोही गठबन्धन सरकार हटाएर समृद्ध नेपाल बनाउने एमालेको बहुमतको सकार बन्ने उद्घोष समेत गरेका छन ।

नेकपा एमालेको प्रवासको सुभेच्छुक संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको आयोजनामा भर्चुअल माध्यमबाट भएको शुभकामना आदान प्रदान कार्यक्रममा ओली उक्त कुरा बताएका हुन । अध्यक्ष ओलीले वर्तमान गठवन्धन सरकारले भारतलाई खुशी पार्नका लागि साझा कार्यक्रममा लिम्पियाधुरा कालापानीलाई समस्या मात्र भनेको र फिर्ता ल्याउने कुरा नगरेको वताउँदै देशमा एमाले सरकारले शुरु गरेको विकासका १४०० बटा भन्दा बढी आयोजना खारेज गरेका लगायत कुरा राष्ट्रघाती भएकाले आफुले देशद्रोही सरकार भनेको बताए ।

एमाले विभाजनप्रति लक्षित गर्दै ओलीले कोरोना भन्दा एमालेबाट बाहिरिएका भाइरसले देशमा हानी पुर्याएको बताए । ओलीले आगामी माघ १२ को राष्ट्रियसभाको निर्वाचन एमालेका लागि अन्तिम धक्का हुने वताए । उनले यो निर्वाचनले नयाँ जनमतको प्रतिनिधित्व नगर्ने बताउँदै एमालेबाट पुरानो जनमत लिएकाहरु र केहि माओवादीसहित प्रतिक्रियावादीहरूको गठजोड भएकाले एमालेलाई प्रतिकुल हुने तर आगामी आम निर्वाचनहरूमा जनताले मतदान गर्ने निर्वाचनहरूमा भने एमाले पहिलो हुने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले माओवादीको जारी महाधिवेशनतर्फ इंकित गर्दै सामाजवादको नेपाली बाटो भनेको आफ्नै सरकार भत्काएर एउटा चोइटो लिएर अरुका पछाडि कुद्नु समाजवाद हो ? भनेर प्रश्न गरे। शुसासन र विकासका प्रयासलाई भत्काएर अस्थिरता भष्ट्रचार जस्ता कुरा निम्ताउनु समाजवादको बाटो हो ? भन्दै थप प्रश्न गर्नु गरे ।

अध्यक्ष ओलीले एमालेको विभाजनमा एमालेलाई स्पष्ट साथ र सहयोग दिने प्रवासमा रहेको नेपाली समुदायलाई धन्यवाद व्यक्त गरे । उनले प्रवासी नेपाली मञ्चलाई विशेष धन्यवाद दिँदै प्रवासको कमिटीको जोश जाँगरले नेपालमा समेत विभाजनकाविरुध्द खडा हुन मनोबल प्राप्त भएको बताए । ओलीले देश बाहिर बसेर देशको राजनीतिलाई सहि ढंगले विश्लेषण गर्ने बुझ्ने त्यस अनुसार सहि कुरामा साथ दिएर अगाडि बढेकोमा प्रवासीहरुको सरहाना गर्दै धन्यवाद दिए ।

प्रवासमा खास गरि युरोप अष्ट्रेलिया अमेरिकामा रहेका नेपालीहरुको चासोको बिषय रहेको गैरआवासीय नागरिकको द्बैध नागरिकता बारेमा ओलीले विदेशी नागरिकता लिएकालाई राजनीतिक अधिकार बाहेकको र विदेशी नागरिकता त्यागेमा सम्पूर्ण अधिकारसहितको नागरिकता दिन सकिने बताए । उनले प्रवासी नेपालीहरुलाई नेपाली र नेपालीको हितमा गरेको कार्यलाई धन्यवाद दिदै नयाँ वर्षमा राष्ट्रका लागि थप योगदान गर्न आव्हान गर्दै नया बर्षको शुभकामना दिए ।

कार्यक्रममा एमाले विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा राजन भट्टराईले नयाँ वर्षको शुभकामना दिँदै कोरोना संकटको बेलामा प्रवासी नेपाली मञ्चले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमामा पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानमा साथ दिन आग्रह गरे । उनले देशको राष्ट्रियता बलियो बनाउन र विकासको पथमा हिडाउन पनि प्रगतिशील जनमुखी सरकार आउनु पर्ने बताउँदै त्यसका लागि पनि सक्दो सहयोग गर्न अपिल गरे ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमिटीका सचिव रमेश पाण्डेले गरेका थिए । कार्यक्रममा कमिटीका सदस्य डा.विमला भण्डारीले स्वागत तथा नेपाली राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा खड्ग न्यौपानेले गीत प्रस्तुत गरेका थिए । सो कार्यक्रममा ओलीले गरेको सम्बोधन केहीबेरमा दैनिकीको युट्युब च्यानलफेसबुक पेजमा हेर्न सक्नुहुनेछ

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १२:४१