२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

चिकित्सक अभाव भएपछि सेवा प्रभावित

१५ पुस, दार्चुला । जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो । जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिटेन्डेण्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा दुई दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो ।

प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताउनुभयो । रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उहाँले बताउनुभयो । अस्पतालमा तीन स्टाफ नर्सको दरबन्दी रहेकामा तीनै जना कार्यरत छन् । अस्पतालमा हेल्थ असिस्टेन्ट एक, अहेब दुई, अनमी दुई तथा ल्याब असिस्टेन्ट एक जना कार्यरत छन् ।

जिल्लामा हाल ४० स्वास्थ्य चौकी, पाँच निर्माणाधीन आधारभूत अस्पताल, ३३ सामुदायिक स्वास्थ्य इकाई, चार नगर स्वास्थ्य केन्द्र, १४४ गाउँघर क्लिनिक, १४२ खोप केन्द्र, आठ माइक्रोस्कोपिक सेन्टर, दुई डट्स सेन्टर तथा तीन सब कोल्ड चेन सेन्टर छन् । जिल्लाभरी १४ मेडिकल अधिकृत, एक जनस्वास्थ्य अधिकृत, ४३ हेल्थ असिस्टेन्ट, २१ स्टाफ नर्स, ११७ सिनियर अहेब, १७४ सिनियर अनमी तथा ३० ल्याब टेक्निसियन कार्यरत छन् । जिल्लामा एक वर्षको अवधिमा एक हजार १८२ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

कोरोनाविरुद्वको पूर्ण खोप लगाउनेको सङ्ख्या ६४ हजार ३७० जना पुगेको छ । व्यास गाउँपालिकामा चार हजार २२३, दुहुँमा पाँच हजार ११२, महाकाली नगरपालिकामा ११ हजार ९४०, नौगाड गाउँपालिकामा सात हजार ६८१, अपिहिमाल गाउँपालिकामा तीन हजार ३९०, मार्मा गाउँपालिकामा ६ हजार ५१०, शैल्यशिखर नगरपालिकामा ११ हजार ८५६, मालिकार्जुन गाउँपालिकामा आठ हजार ६३५ तथा लेकम गाउँपालिकामा पाँच हजार १२३ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । जिल्लाभरी खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ८५ हजार ३९३ रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : December 30, 2021 at 4:02 pm