२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

किसानलाई हाते ट्र्याक्टर मर्मत तालिम

१५ पुस, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका किसानलाई हाते ट्र्याक्टर मर्मतसम्बन्धी तालिम प्रदान गरेको छ । नगरपालिकाले बर्सेनि हाते ट्र्याक्टर वितरण गर्दै आए पनि बिग्रेपछि प्रयोगबिहीन हुने समस्या बढ्दै गएकाले किसानलाई मर्मतको तालिम दिइएको हो । मर्मत गर्न सिकाएर हाते ट्र्याक्टर सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ किसानलाई तालिम प्रदान गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारीमा ‘कोभिड–१९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत किसानलाई हाते ट्रयाक्टर मर्मतसम्बन्धी एकहप्ते तालिम दिइएको हो । तालिममा वालिङका १४ वडाका ५० कृषक सहभागी छन् ।

“गाउँ गाउँमा हाते ट्रयाक्टर छन्, कतिपय बिग्रेपछि थन्क्याइएको छ”, नगर प्रमुख खाँणले भन्नुभयो, “प्रयोगबिहीन भएपछि नयाँ किन्ने गरेको पाइयो, त्यसैले किसानलाई तालिम दिएर मर्मत गरी पुनः सञ्चालन गर्न सक्ने बनाउने योजना छ ।” गाउँमै मर्मत गर्न सक्ने भएपछि बजार लैजानुपर्ने बाध्यता हटेर जाने खाँणको भनाइ छ ।

“मर्मतभन्दा ढुवानीमा बढी रकम र समय खर्च हुने गरेको छ”, उहाँले भन्नुभयो । मर्मतमा धेरै खर्च हुने भएकाले त्यसलाई जोगाउन पनि किसानलाई सीप सिकाइएको युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताउनुभयो ।

प्रकाशित मिति : December 30, 2021 at 1:48 pm