४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राष्ट्र बैंकको नीतिगत व्यवस्थाले अर्थतन्त्रमा नकारात्मक असर गरे फिर्ता लिन्छाैँः गभर्नर अधिकारी


७ पुस, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय वित्तीय प्रणालीमा भएको तरलता अभाव उच्च आयातको कारणले भएको बताएका छन् ।

राष्ट्र बैंकले बुधबार काठमाडौँमा आयोजना गरेको आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम बोल्दै गभर्नर अधिकारीले तरलता अभाव हुनुको प्रमुख कारण उच्च आयात भएको बताएका हुन् । गभर्नर अधिकारीले आयातका लागि ठूलो रकम बृद्धि भएर फाइनान्स गर्नु पर्दा त्यही मात्रामा रकम निक्षेप संकलन नहुँदा बजारमा तरलता अभाव भएको बताए।

आयात बढे अनुसार आयातलाई गएको रकमलाई परिपुरण गर्ने अन्य स्राेतहरु नहुँदा तरलताको समस्या सृजना भएको गभर्नर अधिकारीले बताए । गभर्नर अधिकारीले चार महिनाको अवधिमा मात्रै ४ खर्ब कर्जा बढेको र निक्षेप १ खर्ब मात्रै बढेको भएको बताए ।

उनले राष्ट्र बैंकले तरलता समस्या दिर्घकालिन रुपमा समाधान गर्नको लागि परेको बताए । राष्ट्र बैंकले अर्थतन्त्रलाई सही दिशामा लिनको लागि आवश्यक उपकरणहरु प्रयोग गरिहेको गभर्नर अधिकारीले उल्लेख गरे । उनले आयात कम गर्नको लागि राष्ट्र बैंक र मन्त्रालयको सल्लाह अनुसार आयातमा कडाइ गरिएको बताए । गभर्नर अधिकारीले पछिल्लो समय उच्च आयातकै कारण शोधान्तर घाटा बढ्दा वित्तीय प्रणालीमा तरलता अभावको समस्या देखिएको बताए ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले अर्थतन्त्रमा नकारात्मक असर पार्ने अवस्था सिर्जना भए फिर्ता लिन तयार रहेको पनि बताए । राष्ट्र बैंकले गरेको आयात सम्बन्धी व्यवस्थाले कडाई गरिएका वस्तुहरुको मूल्यबृद्धि हुने र रोजगारी गुम्ने भन्ने कुरामा आफू सहमत नरहेको गभर्नर अधिकारीको धारणा राखे ।

उनले कोरोना महामारीको अवस्था भन्दाको पहिलेका अवस्था सम्म पनि बैंकको ब्यादर कम रहेको बताए । उनले पुस लागेसँगै केही ब्याज बढेको बताए । गभर्नर अधिकारीले भने,‘ तरलता अभाव हुनुको प्रमुख कारण उच्च आयात बृद्धि तथा सोधान्नातर घाटा बढ्नु हो । चालु आर्थिक वर्ष लागेसँगै आयातका लागि ठूलो रकम बृद्धि भएको छ । जसलाई फाइनान्स गर्नु पर्दा त्यही मात्रामा रकम निक्षेप संकलन हुन सकेन ।

यसरी आयातमा बृद्धि भएको रकम निक्षेपमा संकलन हुन नसक्दा बजारमा तरलता अभाव सिर्जना भएको हो । त्यस्तै, आयात बढे अनुसार आयातलाई भएको रकमलाई मिट गर्ने अन्य सा्रेतहरु नहुनाले पनि तरलताको समस्या सिर्जना भयो । चार महिनाको अवधिमा मात्रै ४ सय खर्ब कर्जा प्रवाह हुँदा निक्षेप १ सय खर्ब मात्रै संकलन भएको छ । यसले पनि तरलता अभावमा सहयोग पुर्याएको छ ।

अहिले राष्ट्र बैंकले तरलता समस्या दिर्घकालिन रुपमा समाधान गर्नको लागि परेको छ । राष्ट्र बैंकले अर्थतन्त्रलाई सही दिशामा लिनको लागि आवश्यक उपकरणहरु प्रयोग गरिहेको छ । आयात कम गर्नको लागि राष्ट्र बैंक र मन्त्रालयको सल्लाह अनुसार आयातमा कडाइ गरिएको छ । राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले अर्थतन्त्रमा नकारात्मक असर पार्ने अवस्था सिर्जना भए फिर्ता लिन तयार रहेको छ ।

आयात सम्बन्धी व्यवस्थाले कडाई गरिएका वस्तुहरुको मूल्यबृद्धि हुने र रोजगारी गुम्ने भन्ने कुरामा आफू सहमत छैन । राष्ट्र बैंकले अर्थतन्त्र लय भन्दा बाहिर जाँदा नियमन गर्नु पर्छ । त्यसको केही नियमन गर्न केही नीती परिर्वतन मात्रै भएको हो । बैँकहरुले कोरोना महामारी केही सहज हुने वितिकै अर्थतन्त्र चलायमान बनाउन ग्राहकलाई खुसी बनाउन कर्जा प्रवाह गर्दा समस्या भएको हो ।

हामीले अर्थतन्त्रलाई सही दिशामा लिनको लागि आवश्यक उपकरण लिएको छौं, सोही अनुसार नीति बनाइरहेका छौं तर त्यस्ता नीतिले समस्या हुन्छ भने त्यसबाट पछि हट्न तयार छौं । दुबै समस्या समाधान गर्नको लागि आयातमा कडाई गरिएको हो ।’

अन्तक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानको लागि कर्जाको माग बढेको र सो अनुसार आयात भएको बताइएको छ । कोभिडपछि विदेशमा मूल्यबृद्धिदरमा ठूलो चाप परेपनि नेपाल मुल्य बृद्धिको ठूला मार नपारको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले कार्यक्रममा आयातलाई निरुत्साहन गर्न राष्ट्र बैंकले ल्याएको नीतिले सहयोग हुने अपेक्षा रहेको जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार ५ महिनामा १ खर्ब ५ अर्बले निक्षेप बढ्दा कर्जा ४ खर्ब ३५ अर्बले कर्जा बढेको छ । पुस लागेपछि भने कर्जाको तुलनामा निक्षेप बढेको जानकारी राष्ट्र बैंकले दिएको छ । पुस १ देखि ५ गतेसम्ममा १६.८ अर्ब निक्षेप बढ्दा कर्जा ४ अर्बले बढेको छ । त्यस्तै राष्ट्र बैंकले सेयर बजार प्रति सकारात्मक रहेको पनि बताएको छ ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार १९:५७