२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

शिक्षिकाको सरुवाले पठन–पाठन प्रभावित

२९ मंसिर, खोटाङ । दरबन्दीमा रहेको शिक्षिकालाई काजमा अन्यत्र लगिएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित सेती शीतला प्रावि खावा डाँडाको पठन–पाठन प्रभावित भएको छ ।

सेती शीतला प्राविमा दरबन्दीमा रहेको शिक्षिका बरुणा राईलाई २८ फागुन २०७६ मा अन्नपूर्ण मावि बुवालुङमा काजमा लगेपछि सो स्थानमा अन्नपूर्ण मावि बुवालुङबाट लगिएकी शिक्षिका रिनादेबी बुढाथोकीलाई पनि काजमा फिर्ता लगिएपछि पठन–पाठन प्रभावित भएको हो ।

शिक्षिका राईलाई काजमा लगेर पुःन काजमै ल्याइएकी अर्की शिक्षिकालाई फिर्ता लैजाँदा हाल दुई शिक्षक/शिक्षिकाको भरमा विद्यालयको कक्षा सञ्चालन गर्नु परेको प्रअ सुजन तामाङको भनाई छ ।

शिक्षिका राईको ठाउँमा काजमै लगिएकी शिक्षिका बुढाथोकी गत ७ मंसिरदेखि सेती शीतला प्राविबाट अन्नपूर्ण माविमै फर्काइएकी छन् । वडा कार्यालयको २० चैत २०७७ को पत्र अनुसार गत ६ वैशाखको नगर प्रमुख स्तरीय निर्णय अनुसार शिक्षिका बुढाथोकीलाई कामकाजमा खटिएको विद्यालयबाट तलब भत्ता भुक्तानी हुनेगरी सेती शीतला प्राविबाट अन्नपूर्ण माविमै खटाइएको थियो ।

कक्षा ५ सम्म पठन–पाठन हुँदै आएको सो प्रावि कमा ६३ विद्यार्थी अध्ययनरत छन् । दुई शिक्षक/शिक्षिका कक्षामा पुग्दा अन्य कक्षा भने खाली हुने गरेको छ ।

एक शिक्षक, एक शिक्षिका र एक जना वाल विकास केन्द्रका सहयोगी कार्यकर्ता बिरामी परेको अवस्थामा कक्षा खाली हुने अवस्था रहेको प्रअ तामाङको भनाई छ । विद्यार्थीको संख्या अनुसार शिक्षकको व्यवस्था नहुँदा कक्षामा विद्यार्थी अनियन्त्रित हुने गरेका छन् । यस विषयमा प्रतिक्रिया लिन खोज्दा वडाध्यक्ष लीला चौहानको फोन उठेन ।

प्रकाशित मिति : December 15, 2021 at 8:27 pm