२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

प्रचण्डको अभिव्यक्तिबारे के भन्छन् शेयर लगानीकर्ता ?

२८ मंसिर, काठमाडाैँ । इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गरेका छन् ।

पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनि अध्यक्ष प्रचण्डले केही दिन अघि दिएको अभिव्यक्ती बिडम्बनापूर्ण भएको पूर्वअध्यक्ष पौडेलले बताए । उनले पुँजीबजारलाई अर्थतन्त्रको ऐना हो भनेर पेशा नै बनाएर लाग्ने लगानीकर्ताको लागि ‘प्रचण्ड’ले पुँजीबजारमा लगानी गर्नु साम्राराज्यवादको विकसित रुपको टिप्पणी गर्नु बिडम्बनापूर्ण अभिव्यक्ति भएको बताए ।

पौडेलले उद्योग व्यवसाय गर्न आवश्यक पूँजी निर्माण, बजारमा छरिएर रहेको पुँजी संकलन गर्ने र उद्यमशीलताको विकास पुँजीबजारले गर्छ भन्ने मान्यता राख्ने लगानीकर्ताको लागि प्रचण्डको अभिव्यक्ति विल्कुल गलत तथा समय सान्दर्भिक नभएको बताएका हुन् ।

उनले पार्टीको नेतृत्व तहमा रहेका नेताहरुले पुँजीबजारको आवश्यकता हो की होइन भन्ने विषयमा बहस तथा छलफल गर्न आवश्यक भएको तर्क राखे । पौडेलले यस्तै हो भने अब पुँजीबजारलाई पुँजीबजार कै रुपमा तथा स्वतन्त्र चल्न दिनुपर्ने बताए । उनले सरकार नियामक निकाय तथा ठूला नेताहरुलाई नै पुँजीबजारको सामान्य नियम नै नबुझेकाले अहिलेको अवस्था आएको बताए ।

पौडेलले अब सबैलाई बुझाउने काम लगानीकर्ताको नै काँधमा आएको बताए । पौडेलले भने, ‘शेयर बजारलाई पेशा नै बनाएर, पुुँजीबजार नै अर्थतन्त्रको ऐना भनेर शेयर बजारमा २० वर्षदेखि लागेका छन् । पुँजीबजारले उद्योग व्यापार व्यवसायका लागि आवश्यक पुँजी तथा छरिएर रहेको पुँजीलाई संकलन गर्न सक्छ र उद्यमशीलताको विकास पुँजीबजारले गर्दछ भन्ने मान्यता राख्नेहरुलाई प्रचण्डको भनाई विल्कुल गतल हो ।

यसरी बोल्नु समय सापेक्ष पनि छैन । उनले कुन परिवेशमा कसरी बुझे र भने । उनले नै बुझे होला । तर मलाई के लाग्छ भने नेताहरुका पछिल्लो अभिव्यक्तिहरु पुँजी बजारको मर्म कसैले बुझेको जस्तो छैन । त्यसैले अब पुँजीबजारको विषयमा वहस गर्ने बेला आएको छ । नेपालको लागि पुँजी बजार आवश्यकता हो कि होइन ।

पुँजीबजार नचाँहिने नै हो । पुँजी बजारले मुलुकको अर्थतन्त्रलाई राम्रो गर्दैन भने यो विषयमा वहस गर्नु आवश्यक छ । होइन भने पुँजीबजारलाई पुँजीबजारकै रुपमा तथा स्वतन्त्र चल्न दिनुपर्छ । पुँजी बजारको विकासको लागि काम गर्नुपर्यो । सरकारले साच्चीकै पुँजीबजारको विकास, बिस्तार तथा व्यापकताको लागि र पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि काम गर्नु पर्ने थियो ।

तर, सरकारले पुँजीबजारको सामान्य नियम नै बुझेको छैन । अब हामीले बुझाउनु पर्छ । सरकार, नियामक निकायले पुँजीबजारलाई पुँजी बजारकै रुपमा चल्न दिनुपर्छ । पुँजीबजारमा मूल्य र मान्यताका हिसावले चल्न दिनु पर्छ । अनि मात्रै बजार राम्रो हुन्छ । तर, बजारलाई शेयर बजारका नीति निर्माताले त्यो किसिमले बुझेनन् । पुँजी बजारको छुट्टै मूल्य मान्यताहरु हुन्छन् ।

त्यो मान्यताहरुलाई नीति निर्माताले आत्मासाथ गर्न नसक्दा अहिलेको अवस्था आएको हो । यसमा हाम्रो पनि थोरै कतै कमिकमजोरी छन् । पुँजीबजारलाई पुँजीबजारकै रुपमा चलाउन नसकेको परिणाम अहिले लगानीकर्ताले भोगिरहेका छन् । अहिले बजारमा लगानीकर्ता असाध्यै आत्तिएको अवस्था छ । लगानीकर्ताले अभिभावक गुमाएको तथा समाउने ‘हागो न टेक्ने अखेटो’ जस्तो अवस्था छ । यस्तो अवस्थामा समग्र लगानीकर्ताले पुँजी बजारको विकास र बिस्तारको लागि आवाज उठाउनु आवश्यक छ ।’

पौडेलले पछिल्लो ७३ दिनमा नेपाली शेयर बजारको पुँजी ३० प्रतिशतले घटेको बताए । उनले बजारमा पुँजी बिस्तारको हिसावले हेर्ने हो भने यो अवधिमा १२ अर्ब ३० करोडको नोक्शानी भएको बताए । पछिल्लो समय लगानीकर्ताले प्रत्येक दिन १६ अर्ब ६६ करोड रुपैयाँ नोक्शानी भोगिरहेको पौडेलले बताए । पौडेलका अनुसार नेपालको इतिहासमा छोटो समयमा शेयर बजार यति धेरै घटेको पहिलो पटक हो ।

उनले शेयर बजार घट्नु तथा बढ्नु लगानीकर्ताले स्वाभाविक रुपमा लिनु पर्ने बताए । नेपालका राजनीतिक दलका नेतृत्वले पुँजीबजारको अर्थ, महत्व, अन्तर्राष्ट्रिय अभ्यासहरु र पुँजीबजारले अर्थतन्त्रमा पारेको प्रभावको बृहत दायरालाई नबुझि साँघुरो बुझाइ बनाउँदा नेपालको पुँजीबजारले परिपक्वता पाउन नसेकेको पौडेलले जिकिर गरे ।

त्यस्तै, पछिल्लो समय सबैले पुँजीबजारलाई पुँजीबजारको रुपमा लिएको भए कहिले ४ देखि १२ करोड सीमा, धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक कहिले बैंक तथा वित्तीय संस्थाले खरिद गर्न नपाउने नीति ल्याउनु गलत भएको बताए ।

त्यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्रचण्डको अभिव्यक्ति साना लगानीकर्ताको मर्म विपरित भएको बताएका छन् । अध्यक्ष पोखरेलले शेयरमा लगानी गर्ने लगानीकर्ता पुँजीपति मात्रै नभएको बताए । उनले पछिल्लो समय शेयर बजार पुँजीपति वर्गले मात्रै नभएर रोडमा बसेर साग बेच्ने, घरैमा बसेर एउटा घर गृहिणी र विद्यार्थीको लागि समेत भएको बताए ।

राजनीतिक नेतृत्वमा रहेका नेतृत्वले यो कुरा बुझिदिनु पर्ने अध्यक्ष पोखरेलले बताए । प्रचण्डले दिएको अभिव्यक्ति शेयर लगानीकर्तालाई साँढेको जुधाईमा बाच्छाको मिचाई जस्तै भएको उनको टिप्पणी थियो । ४६ लाख लगानीकर्ताको आम्दानीको स्रोत नै पुँजी बजार भएकाले पुँजीबजारलाई लक्षित गरेर टिप्पणी गर्नाले माओवादीको भोटमा समेत असर गर्ने सक्ने बताए ।

अध्यक्ष पोखरेलले प्रचण्ड र वर्तमान अर्थमन्त्रीलाई समेत पुँजीबजारको विषयमा सामान्य ज्ञान समेत नभएको तर्क गरे । उनले भन्नु भयो,‘नेतृत्व तहमा बसेका व्यक्तिले शेयर बजारका विषयमा गलत टिप्पणी गर्नु लगानीकर्ताको मर्म विपरित हो । विगत लामो समयदेखि माथिल्लो तहमा बस्ने व्यक्तिहरुले शेयर बजारको विषयमा नकारात्मक कुराहरु बोल्ने गरेका थिए ।

जसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शेयर बजारलाई जुवा घरको संज्ञा दिएका थिए । भने पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले शेयर बजार अनुत्पादनको क्षत्र हो भन्ने गरेका थिए । शनिवार माओवादीका अध्यक्ष प्रचण्डले शेयर बजार पुँजीपतिहरुले मात्रै गर्ने हो भन्नु गलत हो ।

प्रचण्डले यो बुझ्नु भएन की शेयर बजार शेयर बजार सेन्टिमेन्टमा चल्ने बजार हो । यसरी अहिले नीतिगत तहमा बस्नेहरुले विभिन्न समयमा यस्ता अभिव्यक्ति आउँदा शेयर बजार साच्चै जुवाघर रहेछ की लगानी गर्ने वातावरण नभएको बताउन थालेका छन् ।

नेतृत्वले यस्तो बोल्दा बजारमा कसरी नीतिगत सुधार हुन्छ । लगानीकर्तालाई अहिले बजार हाम्रो लागि नभएको लागेको छ । अहिले कुनै राजनीतिक दलहरुसँग १० लाख पनि सदस्य छैनन्। तर, शेयर बजारले यस्तो स्थिती बनाएको छ की ४५ लाख भन्दा बढी लगानीकर्ता भएका छौं। लगानीकर्ताहरुले नै एउटा राजनीतिक पार्टी खोल्न सक्ने अवस्थामा छौं । लगानीकर्ताको प्रतिनिधित्व गर्दै सरकारमा जान सक्छौं ।

हामीलाई हेपाहा प्रवृत्तिले भोलिको दिनमा राजनितीक दललाई नै असर गर्दछ । तर लगानीकर्ताले जस्तोसुकै परिस्थिती आए पनि मन बलियो बनाउनु जुरुरी छ । प्रचण्डलाई शेयर बजारको विषयमा कुनै ज्ञान छैन । अर्थमन्त्रीलाई समेत शेयर बजारको विषयमा ज्ञान छैन । अर्थशास्त्रको विद्यार्थी नै म होइन ।

मलाई अर्थशास्त्र जान्नु पनि छैन । भन्ने अभिव्यक्ति आउने गरेको छ । यो सबै अबुझ पन हो । जुन कुराको ज्ञानै छैन । त्यो कुरामा किन बोल्नु हुन्छ । प्रचण्डले कुनै शेयर बजारको कार्यक्रममा बोल्नु भएको होइन । इगो साच्नको लागि बोल्दा लगानीकर्ताले दुई दिन मार खेप्नु पर्यो ।’

अध्यक्ष पोखरेलले शेयर बजारमा निरन्तर रुपमा विभिन्न तहबाट हुने प्रहारले लगानीकर्ता शेयर बजारबाट बाहिर निस्कन थालेको बताउनु भयो । उनले नीतिगत तहमा बस्नेहरुले पुँजीबजारलाई नकारात्मक रुपमा बुझ्दा बजार निरन्तर रुपमा तीन महिनादेखि घटिरहेको बताए ।

प्रकाशित मिति : December 14, 2021 at 7:22 pm