२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

‘नो लालपुर्जा, नो भोट’ भन्दै रत्ननगरमा सुकुम्बासीको प्रदर्शन

२१ मंसिर, चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुम्बासीहरूले मंगलबार प्रदर्शन गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै र्‍याली र प्रदर्शन गरेको हो ।

निर्वाचनअघि नै लालपुर्जा नपाए निर्वाचन बहिस्कार गर्ने सुकुम्बासीहरूको योजना छ । केपी ओलीको सरकारले गठन गरेको सुकुम्बासी आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिदिएपछि लालपुर्जा वितरण अन्याेल बनेको छ ।

लालपुर्जा वितरणको काम अनिश्चित बनेपछि चितवनका सुकुम्बासी समुदाय आन्दोलित बनेको नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले बताए । ‘नेताहरूले सुकुम्बासीलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आएका छन्’, उनले भने, ‘त्यसैले हामीले आजको प्रदर्शनको मुख्य नारा नै ‘नो लालपुर्जा, नो भोट’ बनाएका छौँ ।’

र्‍यालीमा रत्ननगरसहित चितवनका सयौँ सुकुम्बासीको सहभागी थियो । सहभागीहरूले ‘बसोवासका आधारमा लालपुर्जा देऊ’, ‘झुटको राजनीति बन्द गर’, ‘उधारोमा भोट माग्ने प्रथा अन्त्य गर’ लगायतका नारा लगाएका थिए । रत्ननगरको निपनी चोकबाट सुरु भएको र्‍याली टाँडीचोक हुँदै बकुलहरस्थित रत्ननगर नगरपालिकाको गेटमा कोण सभामा परिणत भएको थियो ।

सभामा समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले लालपुर्जा प्राप्तिका लागि अन्तिम मिसनका रूपमा देशव्यापी अभियान सुरु गरेको बताए । लालपुर्जा नपाए आगामी तीनै तहको निर्वाचनमा सुकुम्बासी समुदायले भोट नहाल्ने उनको भनाइ छ । नेपालमा ७० लाख सुकुम्बासी र ४० लाख सुकुम्बासी मतदाता रहेको उनले बताए ।

प्रकाशित मिति : December 7, 2021 at 3:21 pm