१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

सात रेफ्रीलाई समर्थन गर्दै अन्य नौले पनि गरे लिग नखेलाउने निर्णय

-रमेश सुबेदी

१६ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका ७ रेफ्रीको राजीनामासँगै लिग नखेलाउने निर्णय गरेकालाई थप ९ रेफ्रीले समर्थन गर्दै लिग नखेलाउने निर्णय गरेका छन् । शीर्ष डिभिजनको लिग जारी रहँदा एन्फा अध्यक्षले गरेको व्यवहारका कारण लिग नखेलाउने निर्णय गरेको रेफ्री स्रोतले न्युज कारखानासँग बताएको छ ।

यस अघि जारी लिग खेलाइरहेका ७ फिफा रेफ्रीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा समक्ष राजीनामा पत्र बुझाएका थिए । यसअघि ९ रेफ्रीले राजीनामा बुझाए पनि विभागबाट दबाब आएका कारण आर्मीका दुई रेफ्रीले नाम फिर्ता लिएका हुन् । ७ फिफा रेफ्रीलाई समर्थन गर्दै अन्य लिग खेलाउने क्याटगोरी ए का ९ रेफ्रीले समेत लिगमा सहभागी नहुने निर्णय लिएका हुन् ।

यस अघि एन्फाले गत डिसेम्बरमानै १० पुरुष र २ महिला गरी १२ रेफ्रीको फिटनेस टेस्ट गरी फिफा ब्याज नवीकरण गरेको थियो । तर लिग दौरान एन्फा अध्यक्ष सहित एन्फा रेफ्री निर्देशक गौतम कौरले पुनः टेस्ट मागेपछि आफूहरूले आपत्ति जनाएको र त्यसपछि एन्फा अध्यक्ष कर्माले आफूहरू प्रति गरेको घृणित व्यवहारका कारण राजीनामा दिन बाध्य भएको रेफ्रीस्रोतले न्युज कारखानालाई जानकारी गरायो ।

‘हाम्रो डिसेम्बरमा मात्रै टेस्ट भएको हो । उहाँ अहिले लगत्तै लिन्छु भन्नुहुन्छ । तर हामीले समय पनि मागेका छौं । एक महिना पछि राख्नुस् हामी तयार छौं भनेको हो । अहिले नै गर्दा लिग जारी छ । इन्जुरीको समस्या हुन्छ भन्ने हाम्रो तर्फबाट कुरा राख्दा उहाँले राजनीति गर्ने, पावर देखाउन आएको । मसँग सिधै कुरा गर्ने । लिग नखेलाउनु भनेर हामीविरुद्धनै लाग्नुभयो । त्यसपछि राजीनामा पत्र बुझाउन बाध्य भएको हौं ।’ रेफ्री स्रोत भन्छ ।

यससँगै सहिद स्मारक लिगको तेस्रो चरणका खेल भोलिदेखि रंगशालामा सुरु हुँदै गर्दा सो खेलहरू हुने वा नहुने भन्नेमा अनिश्चितता बढेको छ । लिगका लागि तयार गरिएका मुख्य १७ रेफ्रीले लिग नखेलाउने हस्त लिखित निर्णय नै गरिसकेका छन् । यस्तै केही रेफ्रीभने एन्फा परिसर नजिक नभएकाले मौखिक प्रतिबद्धता जनाएका छन् । राजीनामा दिने ७ फिफा रेफ्रीमा प्रकाश नाथ श्रेष्ठ, नवीन्द्र महर्जन, प्रज्वल क्षेत्री, नानीराम थापा मगर, सहदेव श्रेष्ठ, युनाल मल्ल, किशन कन्हैया यादव रहेका छन ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार २१:५७