२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई सर्वोच्च नेता बनाउने निधिको प्रस्ताव


९ मंसिर, काठमाडाैँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले काँगेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उप सभापति निधीले रुपान्तरण र पुस्ता हस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका हन्छ । उनले नेपाली काँग्रेसमा रुपान्तरण,पुस्तान्तरण र पुस्ताहस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने र नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली काँग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने प्रतिवद्धता व्यक्त गरे ।

उप सभापति उम्मेदवार निधीले देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने बताए । उनले विदेशको रोजगारीमा श्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणले विदेशमा रहेका सबै क्षेत्र र वर्गका नेपालीहरूको हीत संरक्षणमा आफू पार्टी सभापति बनेपछि उचित पहल गर्ने पनि बताए ।

उपसभापति निधीले भने, ‘आफ्नो विगतलाई फर्केर हेर्दा मैले १३–१४ वर्षको किशोर वयदेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा करीव ५३ वर्ष सक्रियतापूर्वक व्यतित गरिसकेको छु । लोकतन्त्र प्राप्तिकालागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृंखला अनुभव गरेको छु ।

विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रश्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु । मैले सभापति पदमा उम्मेदवारी प्रश्तुत गर्दै गर्दा केही निश्चित परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधार समेतलाई केन्द्रविन्दुमा राखेको छु ।’

उपसभापति निधीले प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वोच्च नेता बनाउने बताए । उनले देउवा र पौडेलको मार्ग निर्देशनअनुसार नै पार्टी सञ्चालन गर्ने पनि बताए ।

उपसभापति निधीले भने,‘ शेरबहादुर त एकदम सर्वोच्च नेता हुनुभयो नि, मार्गदर्शक भइहाल्नु हुन्छ, शेरबहादुरजी, रामचन्द्रजी उहाँहरुलाई हामीले नेपाली काँग्रेसको सबैभन्दा सर्वोच्च पदमा, सर्वोच्च नेताको रुपमा जसरी गणेशमानजी, किसुनजीहरु हुनुहुन्छ, त्यस्तै हामी राख्छौँ । उहाँहरुले भनेअनुसार नै हामी पार्टी सञ्चालन गर्दछौँ ।’

उपसभापति निधीले नेपाली काँग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यवस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गराउने प्रतिवद्धता जनाए । उनले भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतका साथ विजयी गराउने वाचा गरे । उनले सभापतिमा लड्छु भनेदेखि नै प्रदेश २ मा आफूलाई कमजोर बनाउन धेरै आक्रमण गरिएको दाबी गरे ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १७:४४