२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

एमाले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः सचिव भट्टराई


९ मंसिर, चितवन। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने बताएका छन् । महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आज आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भोलि दिउँसो नदी किनारमा मानव समुद्र उर्लिने बताएका हुन् ।

प्रेस चौतारी चितवनले महाधिवेशन उद्घाटन स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख भट्टराईले तयारी शतप्रतिशत नजिक भएको भन्दै सभामा ५ लाखको जनसहभागिता रहने दावी गरे । एमालेले नवलपुरको गैँडाकोट सहित चितवनका विभिन्न ७ स्थानबाट विशाल जुलुस निकाल्ने बताएको छ ।

चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए । बन्दसत्रको हल बनाउने तयारी पनि सकिएको उनले जानकारी दिए । महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइने प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिने उनको भनाइ छ । चितवनमा बढी भन्दा बढी जनसहभागिता गराउन जिल्लाका विभिन्न ठाँउमा जनताको घरघरमा एमालेका नेता कार्यकर्ता पुगेर निम्ता गरेको नेता भट्टराईले बताए । एमाले उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको एमालले जनाएको छ ।

उनीहरुलाई उदघाटन सत्र र सडकमा परिचालन गरिने उनको भनाइ छ । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् ।

भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहनेछन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् । कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

एमाले महाविधेशन प्रतिनिधिका लागि मंसिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । भोलि शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिने छ । मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने छन् । मंसिर ११ गते बेलुका साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दावी विरोध र फिर्ताको समय निर्वाचन आयोगले बनाएको छ । सोही दिन साँझ ६.३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
एमालेले महाधिवशेन पछि पार्टीलाई चुनावको तयारीमा लैजाने बताएको छ ।

प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशन पछि एमाले आगामी स्थानीय, प्रदेश र संघको चुनावमा केन्द्रित भएर जनताको बीचमा जाने बताउनुभयो । उहाँले अहिलेको महाविधेशनले अन्तरविरोधलाई हल गरेर बलियो एकता कायम हुने बताए । त्यस्तै, एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चितवन आएका छन् ।

जनता समाज पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा महाधिवेशनको उद्घाटन समारोहमा आउने एमाले प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । नेकपा एकीकृत (समाजवादी) लाई निम्ता नदिएको एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने निम्ता दिएको छ । उनि आउने नआउने निश्चित छैन ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १७:०८