२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

चुनावपछि एमाले चोइटिएर जान्छः माधव नेपाल

८ मंसिर, जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन् । बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था ‘विचारा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गरे ।

‘एमालेभन्दा हामी कमजोर छैनौ, अहिले सातमध्ये दुईवटा प्रदेशमा हाम्राे पार्टीका मुख्यमन्त्री छन् । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाई उठ्नै नसक्ने अवस्थाकाे बनाउन हाम्रै पार्टीको ठूलो भूमिका छ ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा खिमलाल देवकाेटालाई जिताएका छौं’, उनले भने, ‘नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन्, ओलि छटपटाएर अन्टसन्ट बोलिरहेका छन्, गालीगलौजमा उत्रेका छन्, तर हामी आफ्नो काममा मात्रै केन्द्रित छौं ।’

एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्राे रहेको भन्दै उनले भने, ‘म आफैं मधेसमा जन्मेकाे हुँ, मधेसी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्दै छौ ।’ आफ्नो पार्टीप्रति युवाहरूको आकर्षण बढ्दै गएको उनले दाबी गरे ।

सञ्चारकर्मीको एक प्रश्नमा उनले भने, ‘प्रदेश २ को नाम र राजधानीको विषयमा अहिले हाम्रो पार्टीमा छलफल भएको छैन । छलफलपश्चात यो विषयमा अधिकारिक धारणा सार्वजनिक हुन्छ ।’ पर्सादेखि सप्तरीसम्मको बीचमा जनकपुरधाम पर्ने भएकाले राजधानीका लागि जनकपुरधाम नै उपयुक्त हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : November 24, 2021 at 11:51 am