२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

राजनीतिक कुरामा महाअभियोग लगाउन हाम्रो पार्टीको ओकात पुग्दैनः लोसपा

६ मंसिर, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने बताएको छ ।जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीले बुझाएको ज्ञापनपत्र बुझ्दै लोसपाका लक्ष्मणलाल कर्णले जबराले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘उहाँले प्रश्न उठेपछि परम्पराअनुसार छोड्नुपर्ने हो । अब प्रधानन्यायाधीशपछि अर्काे पद पाउनुहुन्न । तीन वर्ष चलाइसक्नु भयो । कोर्टमा उहाँले छोडिदिएर अघि बढ्नुपर्छ’, कर्णले भने ।

जबरालाई महाअभियोग लगाउन लोसपाको हैसियत नरहेको भन्दै उनले भने, ‘राजनीतिक कुरामा महाअभियोग लगाउन हाम्रो पार्टीको ओकात पुग्दैन । २५ प्रतिशत चाहिन्छ । अरू पार्टीसँग समन्वय गर्छौं । पार्टीहरूको महाधिवेशन छ । संसद स्थगित छ । अन्य माननीय र पार्टीका साथीहरू बारकै प्रतिनिधिका रूपमा कुरा राख्छौं । बारलाई मेरो समर्थन छ । म व्यक्तिगत रूपमा प्रयास गर्छु ।’

यसअघि सोमबार नै बारले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई जबरालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको लगायतका आरोप लगाएर बार निरन्तर तीन साताभन्दा लामो समयदेखि आन्दोलित छ ।

प्रकाशित मिति : November 22, 2021 at 5:40 pm