२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

६ मंसिर, बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जीप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको थियाे ।

दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनको शव धनगढीस्थित सेती प्रादेशिक अस्पताल राखिएको छ ।

जीपमा सवारमध्ये पाँच जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 22, 2021 at 11:01 am