२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ स्थगित

५ मंसिर, काठमाडौँ । भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्न आज राखिएको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आवश्यक न्यूनतम् सङ्ख्या नपुगेपछि स्थगित गरिएको छ । पन्ध्र सदस्यीय समितिमा हाल १२ सदस्य रहेकामा आज पाँच जना मात्रै उपस्थित रहेकाले आवश्यक सङ्ख्या नपुग्दा बैठक स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरु पार्टीका विभिन्न तहका अधिवेशनमा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का सांसदहरु पनि महाधिवेशनमा व्यस्त रहेका कारण आजको बैठकमा आवश्यक सङ्ख्या नपुगेको उल्लेख गर्दै सभापति कर्णले अर्को बैठक यही मङ्सिर १७ गतेका लागि तय गरिएको पनि जानकारी दिए ।

समितिको आजै तीन वटा बैठक राखेर पहिलो बैठकमा उजुरी खोल्ने तथा दोस्रो बैठकमा उजुरीकर्तासँग छलफल गर्ने र तेस्रो बैठकमा प्रस्तावित व्यक्तिसँग छलफल गर्ने कार्यसूची रहेको थियो ।

सरकारले केही समयअघि नेपालसँग घनिष्ठ सम्बन्ध रहेका भारतका लागि डा शङ्कर शर्मा, अमेरिकाका लागि प्रा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइका लागि गत कात्तिक १२ गते समितिमा प्रस्ताव आएको थियो । समितिमा प्रस्ताव दर्ता भएको ४५ दिनभित्र सुनुवाइ सक्नुपर्ने कानूनी प्रावधान छ ।

प्रकाशित मिति : November 21, 2021 at 2:08 pm